घटना समाचार

भूपू आर्मीसँग बिहे गराइदिन्छु भन्दै महिलाको हत्या, ६ वर्षपछि एकजना एयरपोर्ट र अर्का जेलबाटै समातिए

बिज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका दुईजना पक्राउ परेका छन् ।

बिज्ञापन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्घाखाँची सितगंगा नगरपालिका-१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लोपोखराका ४६ वर्षीया शिवराम अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । उनले नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीको भनाइ छ । विक भने विदेशबाट फर्किँदा विमानस्थलबाटै पक्राउ परेका हुन् ।

२०७४ पुस ३० गते काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत भेटिएको र अनुसन्धानको क्रममा उनी नारायणी तिमल्सिना (अप्सरा) रहेको पत्ता लागेको थियो ।

अनुसन्धान अधिकृत सुरक्षा केसीका अनुसार मृतक अप्सरासँग जगत विकको चिनजान घटनाकै दिनमात्र भएको थियो । प्रहरीका अनुसार शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग विवाह गराइदिन्छु भन्दै १५/२० हजार रूपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनू भनी फोन गरी बोलाएका थिए ।

‘माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरेर ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा खोला किनारमा मन्दिर पछाडि बसेको पाइयो’, केसीले भनिन् ।

राति शिवराम र जगत विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद निकालेर गोंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेको साथै भोलिपल्ट बिहानै गाडीमा पूर्वतिर फरार भएको प्रहरीको भनाइ छ ।

बिज्ञापन