राष्ट्रिय समाचार

संविधानको धारा ४ हेर- मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर

बिज्ञापन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधानविरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने चेतावनी दिएका छन् । मन्त्रीको तहबाट आएको यो धम्की सामान्य होइन ।

बिज्ञापन

मन्त्रीले संविधान नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने भनिसकेपछि संविधानमा के छ भनेर बुझ्नुपर्ने हुन्छ । धर्मनिरपेक्ष भन्नाले संविधानको धारा ४ मा सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भनिएको छ ।

संस्कृतिमन्त्री किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघनमात्र गरेका छैनन्, धर्म परिवर्तनलाई दण्डनीय भन्ने संविधानको व्यवस्थाको समेत उल्लंघन गर्दै सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दबाबसमेत दिएका छन् ।

संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ । सनातनदेखि चलिआएको धर्म-संस्कृति भन्नाले हिन्दू, बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा स्वयं मन्त्री किराँतीको सम्प्रदायले मान्ने किराँत र प्रकृतिलगायतका परम्परागत धर्म-संस्कृति हुन् । तर, मन्त्री किराँतीले संविधानको धारा ४ नमान्न उक्साएर (उनकै शब्दमा) ‘देशद्रोह’ गरेका छन् । उनले भनेको मान्ने हो भने सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरेर हतकडी लगाउँदै झ्यालखानामा हाल्नुपर्छ । यो अरुको माग होइन, उनकै भनाइ हो ।

व्यक्तिका रुपमा सुदन किराँतीलाई जुनसुकै धर्म मान्ने स्वतन्त्रता छ । आफूले मान्ने धर्मको प्रचार गर्न पनि उनी स्वतन्त्र छन् । तर, मन्त्रीका रुपमा निश्चित धर्मको समर्थन वा विरोध गर्ने हक उनलाई छैन ।

संस्कृतिमन्त्रीका रुपमा त उनको जिम्मेवारी नै हो, सबै धर्म-संस्कृतिको सम्मान गर्नु । र, धार्मिक सद्भावका लागि समाजलाई प्रोत्साहित गर्नु । तर, किराँतीले हिजो जे अभिव्यक्ति दिए, त्यो मन्त्रीको मर्यादा प्रतिकूल त छँदैछ, त्योभन्दा बढी नेपाली समाजको धार्मिक सहिष्णुता र सामाजिक सद्भावविरुद्ध छ ।

बिज्ञापन