राष्ट्रिय समाचार

कतार सरकारले मृत्युदण्ड सुनाएका राउत घर फर्किए

बिज्ञापन

विर्तामोड, पुस ८ गते । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किनुभएको छ ।

बिज्ञापन

तीन वर्ष पहिले आफ्नै काेठामा बस्ने खोटाङ् ऐंसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवासलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो  ।

राउले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताउनुभयो । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफू निर्दोष रहेको राउतले बताउँदै आउनुभएको थियो । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको बिजोग भएको थियो ।

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन वर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको छ ।

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपियाँ रकम सङ्कलन गरेको थियो । राउत स्वदेश फर्काएसँगै आइतबार गाउँमा भव्य स्वागत गरिएको छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका कृषिमन्त्री हीराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष राेशन सुवेदीलगायातले स्वदेश फर्किनुभएका राउतलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा आफू यसरी स्वदेश फर्किएर आउँछु भन्ने विश्वास नलागेको अब कहिल्यै पनि विदेश नजाने स्वदेशमै केही गर्ने सोच बनाएको राउतले बताउनुभयो ।

बिज्ञापन