घटना समाचार

ड्यूटीमा रहेकी श्रीमतीको एसएसपीका बडिगार्डले गरेको हत्याको प्रमुख कारण पारिवारिक कलह

बिज्ञापन

दाङ । घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएपछि जिल्लाको शान्ति सुरक्षाको विषयमा गम्भिर वहस सिर्जना भएको छ । घोराहीको मुख्यचोक नै मानिने दामोदर चोकमा श्रीमान्‌ले प्रहरी जवान रहेकी आफ्नै श्रीमतीको गोली हानी हत्या गरेपछि शान्ति सुरक्षा अत्यन्तै कमजोर रहेको जिल्लातहमा विश्लेषण हुन थालेको छ । केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेर आफैं प्रहरीकहाँ पुगेका थिए ।

बिज्ञापन

डा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका-१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला बिहीबार राति गोली प्रहारबाट मृत्यु भएको हो । उनलाई ढाडमा तीन राउन्ड गोली लागेको थियो ।

थापालाई आफ्नै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले साढे ७ बजेतिर गोली हानेका थिए । एसएसपीका रनर भई तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री बिहीबार मोटरसाइकलमा घोराही आएर थापाको हत्या गरेका हुन् । पारिवारिक कलहकै कारण धनमायाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । यही माघमा धनमायाले अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी भन्छन्, ‘श्रीमान्-श्रीमतीबीच बेमेलका कारण गोली हान्नेसम्मको घटना भएको देखिएको छ, प्रारम्भिक चरणको अनुसन्धानमा पारिवारिक कलह नै देखेका छौं ।’

बजारबीचमा प्रहरी बीटमा साथीसँगै ड्यूटीमा रहेकी पत्नी धनमायालाई केही काम छ भनी बोलाएर यमबहादुरले गोली हानेको एसपीले बताए । उनले गोली हानेर घोराहीको हस्पिटल रोड हुँदै भागेको सीसीटीभि फुटेजमा देखिएपछि प्रहरीले पछ्याउँदै पक्रेको थियो । भे. १२ प ११५० नम्बरको मोटरसाइकलमा घोराही बजार प्रवेश गरेका झाँक्री गोली हानी भाग्दै गरेको अवस्थामा पेस्तोलसहीत अर्जुनखोलाबाट पक्राउ परेका थिए ।

उनीहरूका एक छोरा छन् । धनमायाले सहकर्मीमाझ श्रीमान्‌ले फोनमा मार्ने धम्की दिने गरेको बताउँथिन् ।

बिज्ञापन