राजनीति

रेशम चौधरीकाे पार्टी सरकारमा सहभागी नहुने,बुढानीलकण्ठ जाँदै

बिज्ञापन

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् ।

बिज्ञापन

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताएका हुन्  ।

उनले हाल पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक २ दिनदेखि बसेर भर्खरै समाप्त भएको उनले बताए । नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । 

‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौं । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’– उनले भने । साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

साथै, उनले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । नेता चौधरीले टीकापुर विद्रोहमा थारुहरुलाई बदनाम गराइएको बताए । ‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिवद्ध छौं । अझ हामी भन्न चाहन्छौं टीकापुर विद्रोहमा थारुहरु बदनाम भए, थारुहरुलाई हत्याराको लोगो लगाइदियो ।’ उनले भने, ‘तर, थारुहरुको निवेदन राज्यले स्वीकारेन । त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो । तर, प्रमाणपत्र दिएन । न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो ।’ 

टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ । उक्त घटनामा धेरै थारुहरुको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौंलाई झुठा मुद्दा लगाइएको उनको आरोप छ । ‘टीकापुर घटनाबाट पीडित सयौं बुबाआमाहरुको कानको जाली फुटेको छ । सयौं चेलीबेटीमाथि हिंसा भएको छ । सयौंमाथि झुठा  मुद्दा लागेको छ । सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ । त्यसको समाधान राज्यले गर्नुपर्छ,’– उनले भने । 

नाउपाले महाधिवेशनबाट चयन गरेको पदाधिकारीहरुको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा पेश गरेको र उक्त कार्य प्रक्रियामा रहेको बताए । ‘निर्वाचन आयोगको पनि आफ्नो प्रक्रिया हुन्छ । कतिपय कुरा विधानमा मिले नमिलेको हेर्नुहुन्छ । त्यो छानविनको प्रक्रियामा छ,’– उनले भने । 

‘तपाईलाई टीकापुर घटनामा तीनै तहको अदालतले दोषी करार गर्यो । तपाई आफैं पीडितलाई न्याय दिन्छु भनिरहनु भएको छ नि रु’ भन्ने प्रश्नमा उनले भने, ‘तीनै तहको अदालतले मलाई दोषी देखायो । यो न्यायलयको कुरा हो । मलाई अदालतप्रति केही बोल्नु छैन ।’ 
उनले आफूलाई न्याय दिलाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई म र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण मलगायत सबै राजबन्दीलाई रिहा गरिदिनुभयो,’– उनले भने । 

साथै, उनले घुमाउरो भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भागमा आफूले चाहेजस्तै सम्भावना रहेको बताए । कुनै चिज रोज्ने भन्ने लामिछाने स्वयंको  इच्छा रहेको उनको भनाइ छ । ‘मैले त आशिर्वादको नजिक–नजिक पो देखेको छु । कताबाटको आशिर्वाद मलाई नभन्नुस् ।’ उनले भने, ‘जे भएपनि रवि लामिछानेको ठाउँमा घिउभात छ, मासु छ, लड्डु छ उहाँलाई जे इच्छा लाग्छ त्यो खानुहुन्छ ।’  

बिज्ञापन