राजनीति

रेशमको उपस्थितिमा नाउपा सांसदहरूको बैठक, आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने ‘समझदारी’

बिज्ञापन

आज सरकारका एक मन्त्रीको सरकारी क्वाटरमा नाउपा नेता रेशम चौधरीको उपस्थितिमा भएको छलफलमा पदमुक्त भएकी सांसद इन्द्रिरा गिरिसहित सबै सांसदहरू उपस्थित थिए ।

बिज्ञापन

संसदीय दलका नेता रहेका घनश्याम चौधरी, संसदीय दलको नेताको नयाँ जिम्मेवारी पाएका कैलाश चौधरी काम चलाउ प्रदेश सरकारका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुशीराम चौधरी तथा सांसद टिका थापाको उपस्थितिमा नाउपा कै नेतृत्वका सरकार गठन गर्ने विषयमा करिब समझदारी भएको घनश्याम चौधरीले जानकारी दिए । उनले तत्काल बहुमत पुग्ने दलहरूसँग सहकार्य गरेर सरकार गठन गर्ने विषयमा छलफल अगाडी बढेको बताए ।

‘बिहान अनौपचारिक बैठक बसेको थियो । आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने गरी अगाडि बढ्ने छलफल भएको छ’ उनले भने ‘त्यही अनुसार हामी छलफल अगाडि बढाइरहेका छौँ । बहुमत पुग्ने गरी हामी सरकारको नेतृत्व गर्छौ ।’

उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा रहेको समेत जिकिर गरे ।

‘हामी नेतृत्व गरेर सरकार निर्माण गर्छौ ’ उनले भने ‘त्यो विषयमा हामी सबै सांसद एकमत छौँ । हामीबिच विवाद छैन । हामी एकजुट छौँ ।’

घनश्याम चौधरीलाई अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताबाट हटाउँदै कैलाश चौधरीलाई जिम्मेवारी दिएकी थिइन् ।
संसदीय दलको नेताको जिम्मेवारी पाएका कैलाश चौधरीले पनि छलफल सकारात्मक भएको बताए ।

‘छलफल सकारात्मक छ । हामी सबै मिलेर अगाडी बढ्छौँ ’ उनले भने, ‘पार्टी केन्द्रीय नेतृत्वको निर्देशन अनुसार र हामी सबै सांसदहरूको भावना अनुसार हामी अगाडि बढ्ने हो । ’

पार्टी भित्र आन्तरिक किचलो पछि सुदूरपश्चिमका सबै सांसदहरू एकै ठाउँमा बसेर छलफल गरेको यो पहिलो पटक हो ।

गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच मतभेद रहँदै आइरहेको थियो ।

रन्जिता श्रेष्ठ केन्द्रमा भएको नयाँ सत्ता गठबन्धन अनुसार नै सरकार गठन गर्न चाहन्छिन् भने रेशम कांग्रेससँगै सहकार्य गर्न जोड दिइरहेका थिए ।

मङ्गलवार नाउपाका जिल्ला र प्रदेशस्तरका नेताहरूले नाउपा सांसदहरूलाई विभाजित नहुन र एकै ठाउँमा उभिएर प्रदेशको नेतृत्व गर्न सुझाव दिएका थिए । आज त्यही अनुसार सांसदहरूले छलफल अगाडि बढाएका हुन् ।

स्रोतका अनुसार बुधवार बिहानको छलफलमा पनि रेशम चौधरीले नयाँ सत्ता गठबन्धनबाट मुख्यमन्त्री सम्भावना नभएको तर, कांग्रेसमा त्यो सम्भावना रहेको बताएका थिए । तर, कांग्रेसँग मिल्दा बहुमत पुग्न नसक्ने विषयमा पनि छलफल भएको थियो ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार अहिले कांग्रेस नेतृत्वको सरकारले पनि नाउपालाई मुख्यमन्त्री दिएर सरकार बनाउन खोजिरहेको छ । तर, काङ्ग्रेससँग सहकार्य गर्न नाउपाका सबै सांसदहरू एक ठाउँमा आउने सम्भावना देखिएको छैन । यहाँ कांग्रेसका १८ सांसद छन् ।

नाउपाका सबै सांसदले कांग्रेसलाई साथ दिँदा पनि अझै २ सांसद अपुग हुने देखिन्छ । तर, यता नयाँ सत्ता गठबन्धनसँग नाउपा मिल्दा सहजै सरकार बन्ने हुँदा एमाले माओवादीसँगै मिलेर सरकार बनाउने विषयमा बलियो मत देखिएको एक सांसदले बताए । उनले नाउपाले मुख्यमन्त्री पाउने गरी नयाँ सत्ता गठबन्धनसँगै रहने विषयमा बढी सम्भावना रहेको जिकिर गरे ।

‘हामी यस अघि काङ्ग्रेससँगै थियौँ हामी हुँदा पनि स्वतन्त्र र राप्रपा सांसदले समर्थन नगर्दा सरकार बन्दैन भन्ने देखिसकिएको छ त्यसैले नयाँ गठबन्धनमा जाने र नेतृत्व गर्ने भन्ने विषयमा पनि छलफल भएको छ’ ती सांसदले भने ।

उनका अनुसार नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, नाउपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार गठन हुने देखिन्छ ।

यहाँ एमालेका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र एक सांसद पनि नयाँ सत्ता गठबन्धनमै रहने देखिन्छ । यहाँ २७ जना सांसदबाट बहुमतको सरकार गठन हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्मको समय दिएर सूचना जारी गरेका छन् । नाउपाको विवादका कारण अहिले सम्म सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

अहिले नाउपा भित्र मिलेर जानुपर्ने र आफैले नेतृत्व गर्नुपर्ने मत बलियो देखिएको छ । यस विषयमा ठोस सहमति भए सत्ता गठबन्धनका अन्य दलहरूसँग पनि छलफल अगाडी बढाउने नाउपा नेताहरूले बताएका छन् ।

नाउपाले सरकारको नेतृत्व दाबी गरिरहेका बेला नेकपा एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व गर्ने गरी गृहकार्य गरिरहेको छ ।

आफ्नो भागमा मुख्यमन्त्री परेको भन्दै संसदीय दलका नेता दीर्घ सोडारीले बहुमत पुराउने गरी सरकार बनाउने बताउँदै आइरहेका छन् ।

बिज्ञापन