कैलालीको सहारा क्लवमा फुटबल सिक्नेहरुको ‘क्रेज’

कैलाली । जिल्लाको सहारा युवा क्लवमा अहिले दैनिक १४४ जनाले फुटबल प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई ५ समूहमा विभाजन गरेर सहाराले फुटबल सिकाइरहेको छ । समूह ‘ए’ मा ५, ‘बी’मा १२ र ‘सी’मा १४ वर्षमुनिका, ‘डी’ मा महिला र ‘ई’ मा १४ वर्षभन्दा माथि उमेर समूहकाले फुटबल सिकिरहेका छन् ।
५ वर्षमुनिका ३०, १२ मुनिका ३५, १४ वर्षमुनिका २८, महिला ११ र १४ वर्षमाथिका ४० जनाले दैनिक फुटबल प्रशिक्षण गरिरहेको सहारा युवा क्लबका सचिव छत्र बमले जानकारी दिए । सानो उमेर समूहमा अझै फुटबलको क्रेज बढी देखिएको र सम्भावना पनि राम्रो रहेको उनी बताउँछन् ।

सुरुमा ३० जनामात्रै प्रशिक्षणमा आउने गरेकामा अहिले १४४ जना पुगेको प्रशिक्षक बमले बताए ।
‘५ वर्षभन्दा कम उमेरका साना बाबुहरूले निकै राम्रो सिकिरहेका छन्’, उनी भन्छन्, ‘यही ढंगले सिक्दै जाने हो भने देशले राम्रा खेलाडीहरू पाउनेछ ।’
उनका अनुसार सहारामा फुटबल सिक्दै गरेका केही खेलाडीले जिल्लास्तरीय लिगमा राम्रो प्रदर्शन गरेर टीमलाई जिताएका पनि छन् ।
घोडाघोडी क्लबबाट जिल्लास्तरीय ‘ए’ डिभिजन लिग खेलेका मनोज चौधरी सहारामै प्रशिक्षण गर्छन् । उनी संलग्न टीम उपविजेता बन्यो । मंगलपुर युवा क्लब गौरीगङ्गाबाट जिल्लास्तरीय ‘बी’ डिभिजन लिग खेलेका रोशम चौधरी र प्रकाश सुनारले आफ्नो टीमलाई विजेता बनाउन भूमिका खेलेका थिए ।
‘यहाँ फुटबल सिकिरहेका महिला खेलाडीहरूले पनि राम्रो सम्भावना देखाएका छन् । अध्ययन र घरको काम सकेर फुटबल सिक्दै गरेका उनीहरू खेलकुदबाट देशको नाम राख्ने लक्ष्य लिएको बताउँछन्’, सचिव बमले भने ।
सहारामा फुटबल सिक्दै गरेकी काजल कठरिया देशको लागि खेल्ने आफ्नो सपना रहेको सुनाउँछिन् । ‘हामी महिलाहरूले पनि केही गर्न सक्छौं । देशको नाम राख्न सक्छौं भन्ने लाग्छ’, उनले भनिन्, ‘राष्ट्रिय जर्सी लगाएर देशलाई जिताउने गरी खेल्ने लक्ष्य छ ।’
सानै उमेरमा राम्रो क्षमता प्रदर्शन गरिरहेका काजल जस्ता ११ महिला चाँडै राष्ट्रिय खेलाडी बन्ने सम्भावना रहेको प्रशिक्षक प्रदीप बम बताउँछन् ।
‘यहाँ सबै उमेरका खेलाडीहरूमा राम्रो सम्भावना देखेको छु । उनीहरुले अझै राम्रो प्रशिक्षण पाउन सके छिटो प्रगति गर्नेछन्’, उनले भने ।
नियमित प्रशिक्षणले खेलकुदमा राम्रो सम्भावना बढेको र यसले युवा पुस्ता कुलतमा फस्ने सम्भावना पनि कम भएको क्लबका अध्यक्ष निर्मल मिश्र बताउँछन् ।
‘यहाँका युवाहरु लागुपदार्थ दुर्व्यसन तथा कुलतमा परेका छन् । हामी फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने र लागुपदार्थ दुव्यर्सनबाट जोगाउने उद्देश्यमा लागेका छौं’, उनले भने ‘अहिलेसम्म राम्रो उपलब्धि हासिल गरेका छौं । यही मैदानबाट राष्ट्रिय खेलाडी उत्पादन हुन्छ भन्नेमा विश्वस्त छौं ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
