पाइपबाटै पेट्रोल ल्याउने तयारी अन्तिम चरणमा

वीरगन्ज । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७-८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ ।
‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै उडाउँदै छन् । तर, दीर्घकालीन सोच र भिजनसहित काम गर्ने हो भने सम्भव छ भन्ने गतिलो उदाहरण नेपालीले देख्नै नपाउने भन्ने हुन्न ।

पाइपबाट डिजेल मात्र नभई दोस्रो चरणअन्तर्गत पेट्रोल पनि पाइपबाटै ल्याउने तयारी धमाधम भइरहेको छ । अब करिब दुई–तीन महिनाभित्र जमिनमुनिदेखि पाइपबाटै नेपालको अमलेखगन्ज डिपोमा पेट्रोल ‘रिसिभ’ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल आयाल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आयार्चका अनुसार २४ भदौ २०७६ बाट डिजेल ल्याउन सुरु गरिएको थियो । सोही पाइपबाट अलि फरक प्रविधि प्रयोग गरेर पेट्रोल पनि ल्याउने तयारी भइरहेको उनले बताए ।
भारत मोतिहारी–रक्सौल हुँदै नेपालको वीरगन्ज अमलेखगन्जसम्म कुल ६८ दशमलव ९ किलोमिटर लम्बाई छिचोल्दै जमिनमुनि पाइपबाटै डिजेल ल्याइएको नेपाल आयाल निगम मधेस प्रादेशिक कार्यालयका प्राविधिक तथा सहायक इन्जिनियर एवं प्रवक्ता प्रशान्त भट्टराई बताउँछन् ।
अन्तरदेशीय सीमा पार गरी पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको दक्षिण एसियामै पहिलो भएको उनको दावी छ । नेपालतर्फ कुल ३६ दशमलव २ किलोमिटर र भारततर्फ ३२ दशमलव ७ किलोमिटर दूरीमा जमिनमुनि ८ फिट ३ इन्चभित्रसम्म पाइप गाडिएको छ ।
यो कार्य युद्धस्तरमा भइरहेकै समय नेपालतर्फका विज्ञ अर्थात् इन्जिनियर शरद पौडेलले पनि पुष्टि गरेका थिए । जमिनमुनि गाडिएका पाइप ‘५ एल÷६०–एपीआई’ ग्रेडका १ हजार ४ सय ८ फलामे पाइप भएको प्राविधिकले नै पुष्टि गरेका थिए ।
यो योजना १५ महिनाको अवधिमा सक्नेगरी २०७४ पुसबाट फिल्ड सर्वे सुरु गरिएको थियो । जमिनमा गाड्ने गरी काम सुरु २०७५ वैशाखबाट भएको हो । तर, नेपालतर्फ ९ किलोमिटर दूरीमा सिमरादेखि अमलेखगन्जसम्म जंगल परेकाले त्यहाँका केही रुख हटाउनुपर्ने वन नियमले सरकारको निर्णय र प्रक्रियाले दुई महिनामै सकेको नेपालकै ठूला योजनामध्ये नमूना काम थियो ।
दक्षिण एसियामै नमूना काम
जमिनमुनिबाटै पेट्रोलियम पदार्थ डिजेल नेपालमा ल्याइएको मात्र नभई यो योजना दक्षिण एसियामा अन्तरदेशीय सीमा पार गरी बनेको नमूना योजना पनि रहेको नेपाल आयाल निगम लिमिटेड प्रादेशिक कार्यालय अमलेखगन्जका सूचना अधिकारी तथा सहायक इन्जिनियर प्रसान्त भट्टराईले दावी गरे । पाइपलाइनतर्फ सुरुदेखि काम गर्दै आएका उनी नेपालको पार्टका प्राविधिक विज्ञ पनि हुन् ।
मोतिहारी अमलेखगन्ज पाइपलाइन (एमएपीएल) अन्तर्गत दोस्रो चरणमा ल्याइने पेट्रोलका लागि भण्डारण गर्न ४१ सय किलोलिटरका दुई ठूला ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
यसैगरी, २ सय ५० किलोलिटरका दुई ट्रान्समिक्स ट्यांकी र ३ हजार किलोलिटरका ‘फायर वाटर ट्यांकी’ पनि निर्माण कार्य सकिन लागेको लिखिता निर्माण कन्पनीका प्रोजेक्ट म्यानेजरले जानकारी दिए ।
नेपालमा विभिन्न आन्दोलन र चक्काजामलगायत नाका जामसम्मका आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानीमा प्रभाव पार्न नसक्ने लक्ष्यसहित विकल्प भएको मधेस आन्दोलनमा सक्रिय भइलागेका वीरगन्जका युवाको पनि तर्क छ । हुन पनि भारत बरौनी र रक्सौलतर्फ ट्यांकरमा तेल लिएर आउँदा ढुवानी लागत र अधिक समय लाग्ने तथा आन्दोलनका समय ढुवानी नै ठप्प हुने गरेका धेरै उदाहरण छन् ।
समय बचत, तेलमा मिसावट नहुने र गुणस्तर तेल पाइने मात्र नभई वार्षिक करिब २ अर्ब लागत कम पर्ने लक्ष्यसहित पहिलो चरणमा जमिनमुनिबाटै डिजेल ल्याउन थालिएको थियो ।
पाइपबाटै ११ लाख किलोलिटर डिजेल आयात
गत वर्ष (२०८०-०८१) मात्र अन्तरदेशीय पाइपलाइन हुँदै जमिनमुनिबाटै १० लाख ८३ हजार ५ सय २० किलोलिटर डिजेल नेपालमा आएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । यो डिजेल सबै पाइपलाइनबाटै आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले बताए ।
अहिले कुनै पनि ट्यांकरमा डिजेल नल्याइएको उनको भनाइ छ । सो परिणामको सबै डिजेल पाइपलाइनबाटै आएको हो । यो नाका भएर आयात हुने डिजेल पनि अनिवार्य वीरगन्ज भन्सारमा ‘इन्ट्री’ नगरी नेपाल ल्याउन मिल्दैन । त्यसैले यसको ठोस तथ्यांक वीरगन्ज भन्सारस“ग हुन्छ । अघिल्लो आर्थिक वर्ष पनि १० लाख ४० हजार ५ सय ६ किलोलिटर डिजेल पाइप लाइनबाटै आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
लागतका हिसाबले नेपालमा यो नाका भएर आउने डिजेल मात्र १ खर्ब १३ अर्ब ५८ करोड ३२ लाख ८० हजारको त गत वर्ष मात्र आएको तथ्यांक छ । नेपालमा आयात हुने मालवस्तुमध्ये राजश्व संकलनमा पनि अत्यधिक योगदान गर्ने डिजेल नै हो ।
यो वीरगन्ज नाकाको मात्र हो । वीरगन्ज नाका भएर गत वर्ष आएको डिजेलले मात्र यहाँ संकलन हुने राजस्वको २७ दशमलव ५५ प्रतिशत हिस्सा ओगटेको छ । यो भनेको कुल ४३ अर्ब ३६ करोड ६३ लाख ७७ हजार हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
