सन्त निरंकारी सत्संग भवन नेपालगन्जमा भव्य सत्संग सम्पन्न

नेपालगन्ज, १७ असोज । सन्त निरंकारी सत्संग भवन नेपालगन्जमा भव्य सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा भारतको देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले प्रेममाथि प्रकाश पार्दै भन्नुभयो कि सत्गुरुको चरणबाट प्रेमको गंगा निरन्तर बग्दै रहन्छ । यसै प्रेमको लागि सत्गरु माता जीको कृपाबाट नै यहाँ आउने शौभाग्य प्राप्त भयो । सत्गुरु माता जीले प्रेमको सन्देश दिनको लागि जहाँ–जहाँ जानु छ, त्यहाँ–त्यहाँ सन्तहरुलाई हरियाणामा आयोजित भइरहेको निरंकारी सन्त समागममा आमन्त्रण गर्नुभएको छ । सन्त समागम निकै दुर्लभ हुन्छ, यस्तो अमूल्य, जसको मूल्यको कुनै सिमा नै छैन त्यस्तो सन्त समागममा पूरा विश्वबाट विभिन्न प्रकारका भाषा, संस्कृति, खान–पान, रहन–सहन, विभिन्न सन्तहरु आइरहेका छन् तिनीहरुको दर्शनको लागि समागममा आउन आग्रह गर्नुभयो । सत्गुरुले प्रेमलाई विशेष महत्व दिएको छ । प्रेम छ भने भगवान छ, प्रेम छैन भने भगवान पनि छैन । चाहे हामी जिब्रोबाट अनेकौं प्रकारका नामको रटन गर्दै रहौं तर व्यवहारमा प्रेम छैन भने त्यसबाट कुनै उपलब्धि हासिल हुन सक्दैन । भनिन्छ जसको ह्दयको भित्र प्रेमको वास छैन भने त्यस ह्दयलाई एक शमशानको सरह कल्पना गर्न सकिन्छ । शमशान जहाँ संस्कारको लागि लिएर गइन्छ, त्यहाँ जिउँदो जान कोहि चाहदैन । जुन प्रकारबाट लुहारसंग आफ्रो हुन्छ, तल कोइलालाई जलाउनको लागि तलमाथि गरिन्छ जसबाट हावा बाहिर निस्किन्छ, त्यस हावाको कारण त्यो कोइला जल्न पुग्छ । कोइलामा लुहारले फलामलाई गरम गरेर विभिन्न आकारका औजारहरुको निर्माण गर्ने गर्दछ । यसरी सन्त महात्माहरु सम्झाउँछन् कि यदि प्रेम ह्दयमा छैनभने लुहारको आफ्राको समान यो ह्दय हुन्छ । भन्नुको तात्पर्य प्रेम नै सबै चीज हो । भक्तिमा प्रेम नै छैनभने त्यस भक्तिको पनि कुनै महत्व छैन, उहाँले सम्झाउनु भयो ।


ब्रम्हज्ञान प्राप्त गरेर निरंकारको दर्शन गरे पश्चात पनि जीवनमा प्रेमको पर्दापण छैन भने त्यसको पनि कुनै महत्व छैन । यसर्थ, कदम–कदममा प्रेम चाहिन्छ । प्रेम नै सत्गुरुको मूल मन्त्र हो । सन्तहरु जहिलेपनि सत्संगमा आउँछन् तब उनीहरु ‘प्रेमले भन, धन निरंकार जी’ को उच्चारण गर्दछन् । नफरतले बोल भनेर अहिलेसम्म कसैले भनेका छैनन्, किनकि यहाँ नफरत सिकाईदैन । यसैले सत्गुरु बाबा हरदेव सिंह जी महाराज सम्झाउनु हुन्थ्यो कि प्रेमको संसार बसाउँछौ भने यो संसार बच्न सक्ने छ । अन्यथा हामी संसारमा देखिरहेका छौ बिहानदेखि बेलुकासम्म प्रत्येक मनुष्य अर्को मनुष्यलाई देखेर डराई रहेको छ, भयभित छ । कुनै ग्यारिन्टी छैन कि बिहान निस्केको मान्छे बेलुका घरसम्म घर आइपुग्ने हो कि होइन । यसरी डर जनावरभन्दा मानवको भइरहेको छ । किनकि मानव, मानव बन्न सकेन । बाटोमा कुनै चिनेजानेको मान्छे मिल्छ भने त्यसलाई नमस्कार, हात मिलाउँछौ, हाल खबर सोध्छौ र पिठी फर्काएर आ–आफ्नो गन्तव्य स्थानतिर लाग्छौ । पछि त्यसैको पिठूयुमा हामी छुरा घोप्न पुग्छौ । यसमा कसैलाई कसैमाथि कुनै विश्वास छैन, कुन मानव कस्तो छ । भन्नुको तात्पर्य आज मानवको अवस्था यस्तो बन्दै गइरहेको छ । दिनहुँ हामी देख्ने गर्छौ कि चारैतिर युद्ध भइरहेको छ । संसारमा पाप–अत्याचार यहि धेरै बढी सकेको छ जसको कारण मानवता लोप हुँदै गइरहेको छ । मानवको कारण सुरक्षित कोहि छैन । आज निरंकारी मिशनले मानवलाई मानव बनाई रहेको छ, उहाँले प्रष्ट पार्नु भयो ।

दशैमा रावणको पुतला बनाईने गरिन्छ । प्रत्येक वर्ष रावणको पुतला बनाएर यसलाई जलाउने कार्य गरिन्छ । त्रेता युगमा त रावण एउटा मात्र थियो तर वर्तमान युगमा रावणको संख्या यति धेरै छ कि जसको कुनै गणना नै गर्न सकिदैन । सबैको मनभित्र रावण हुनुको कारणले नै पाप, अत्याचार र घृणित कार्यहरु भइरहेका छन् । आज सत्गुरुले मानवताको पाठ पढाई रहेका छन्, एकत्वको पाठ पढाई रहेका छन्, प्रेमको पाठ पढाई रहेका छन्, उहाँले बताउनुभयो ।

बाबा हरदेव सिंह जीको जीवनीको बारेमा बताउँदै उहाँले भन्नुभयो जब बाबा जी सानो हुनुहुन्थ्यो । स्कूलको पढाई गर्नुहुन्थ्यो । गर्मीको समयमा बाबा जी आफ्ना सहपाठीहरुलाई लिएर दिल्लीको कोठीमा आउनु भयो । त्यस समय बाहिर निकै गर्मी थियो । बाबा जीले राजमाता जीलाई साथीहरुको लागि चिसो सर्वत बनाउन बिन्ती गर्नुभयो । ती सहपाठीहरु मध्ये एउटा यस्तो सहपाठी थियो जसलाई घृणा र नफरतको भावनाबाट हेर्ने गरिथ्यो । यसको जात सानो छ, हामी ठुला जातका हौ भन्ने भावना थियो । सत्गुरु अन्र्तयामी हुने गर्दछ, जब बाबा जी ट्रेमा सर्वतको गिलास लिएर आउनु भयो तब बाबा जीले त्यस केटालाई जसलाई सबैले घृणा गर्थे, जो सधै पछाडि रहन्थ्यो त्यसको हातमा ट्रे थमाउनु भयो र भन्नुभयो सर्वत सबैलाई देऊ । आफूलाई ठुलो जातिका भन्नेहरु एक–अर्काको मुख हेर्न थाले, केहि बोल्न सकेन । उनीहरुको मनबाट यस्तो प्रकारको भाव मेटाउनु थियो । सबैले गिलास उठाए र पिए । सबै प्रसन्न भए । बाबा जीले पनि पिउनु भयो । सर्वत पिउँदा आपसमा कुराकानी हुन थाल्यो तब बाबा जीले सम्झाउनु भयो कि कसैको मनमा सानो–ठुलो, धनि–गरीब, कालो–गोरो, जात–पात आदिको भाव हुनुहुँदैन । किनभने हामी सबैलाई बनाउने वाला त यो परमात्मा हो । तपाईहरु किन यी स–साना कुराहरुलाई लिएर हिडिरहेका छौ । बाबा जीले त्यस केटालाई आफ्नो गला लगाउँदै अरुलाई पनि लगाउन आग्रह गर्नुभयो । सबैले लगा लगाउँदा त्यस केटाको आत्मालाई ठुलो सम्मान पुग्न गयो । सत्गुरु यहि चहान्छ कि मेरा गुरसिखहरुले ब्रम्हज्ञानलाई शिरोधार्य गर्दै कुनै प्रकारको भेदभाव, अभिमान नगरेर सधैं प्रेमको सन्देश संसारमा फैलाउँदै जाउन, उहाँले बताउनु भयो । अन्तमा सबैलाई हरियाणा भइरहेको निरंकारी सन्त समागममा आउन निमन्त्रणा गर्नुभयो ।

सत्संग कार्यक्रममा बबिता, गायक तेज बहादुर, राहुल, शुसीला, नीशा, नेपालगन्ज भवनका मुखी शिव प्रसाद गोडिया, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, भगवती, पुष्पा, सन्दिप, दिल बहादुर, मनोज, पंकज, पूजा, पवन र देहरादूनबाट आउनु भएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन संजय श्रेष्ठले गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.