सन्त निरंकारी सत्संग भवन टीकापुरमा वृहत सत्संग सम्पन्न

टीकापुर, १९ असोज । सन्त निरंकारी सत्संग भवन टीकापुरमा वृहत सत्संग सम्पन्न भएको छ ।

उक्त अवसरमा सत्संग भवन टीकापुरका मुखी महादेव भण्डारीले निराकार परमात्माको दर्शन भइसकेपछि अरु कसैको दर्शन गर्नुको आवश्यकता नरहेको बताउँदै आज सत्गुरुको कृपाबाट हामीलाई ब्रम्हज्ञानको दात प्राप्त भएको छ, हामीले यसैमा हिडेर आफ्नो जीवन सुखी गर्नु पर्छ ।


त्यस्तै सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले महेन्द्रनगरबाट आरम्भ भएको प्रचार यात्रा डडेल्धुरा, डोटीको दिपायल हुँदै अछामको साफेबगरमा भव्य सत्संगको आयोजना गरिएको बताउनु भयो । जहाँ एक दिन पूरा हिडेर सन्तहरुको उत्साह वर्धक सहभागिता रहेको थियो । त्यसपछि त्यसैदिनको बेलुका अछामकै मंगलसैनमा सत्संग गरियो । त्यसपछि उभार–खाभर बाटोको कुनै प्रभाव नगरेर प्रचार टोली बेलुका दैलेख पुग्यो, जहाँ सत्संगको आयोजना वृद्धा आश्राममा गरिएको थियो । वृद्धा आश्रामका प्रतिनिधिहरुले सत्संग सुनेर निकै आनन्द आएको प्रतिकृया जनाएका थिए र उनीहरुले फेरिपनि यस्तै कार्यक्रम गर्न पुनः आउनु होला, सबै बन्दोवस्त हामी आफैले गर्ने वचन प्रतिवद्धता जाहेर गरेका थिए । त्यसपछि टोली सुर्खेतको बीरेन्द्रनगरमा पुग्यो, जहाँ संयौं सन्त महापुरुषहरुको सहभागिता रहेको थियो, त्यहाँपनि निकै लामो पैदल यात्रा गरेर ठुलो संख्यामा सन्तहरु पुगेका थिए । सुर्खेतपछि दाङ्गको तुलसीपुरमा सत्संगको आयोजना गरिएको थियो । त्यहाँपनि दाङ्ग जिल्लाबाट मात्र नभएर रोल्पा, सल्यान, प्यूठान र रुकुमबाट सन्तहरुको सहभागिता रहेको थियो । दाङ्गपछि नेपालगन्जमा भव्य सत्संगको आयोजना गरिएको थियो । त्यसपछि बर्दियाको तारातालमा सत्संग समाप्त गरेर यस टीकापुर सत्संग भवनमा आइपुगेको बताउनु भयो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले ज्ञान लिनुभन्दा पहिले हामी प्रकृतिको भक्ति तथा पूजा गरिरहेका थियौं, हामीलाई थाह थिएन तर सत्गुरुबाट दिव्यचक्षु प्राप्त भइसकेपछि हामीलाई साक्षात निराकारको दर्शन गर्ने सौभाग्य प्राप्त भयो । सत्गुरुको कृपाबाट जसको भक्ति र पूजा गरिरहेका छौ त्यसको ज्ञान आज हामीलाई भएको छ । आज निराकारलाई जानेर भक्ति गरिरहेका छौ । सन्तको मतिपनि शितलता, शान्ति, धैर्य, दया हुनु आवश्यक छ । मानव जीवनको लक्ष्य र उद्देश्य के हो त्यो सत्गुरुको कृपाबाट हामीलाई प्राप्त भएको छ । जसबाट हामी आनन्दित छौ । यो आनन्द किनेर पाईदैन, यो केवल सन्तहरुको सत्संगबाट मात्र प्राप्त हुन्छ बताउदै उहाँले अन्तमा सबै सन्त–भक्तहरुलाई हरियाणामा हुन गइरहेको ७७औ निरंकारी सन्त समागममा सहभागि हुने सन्तहरुलाई आ–आफ्नो नाम समयमा लेखाएर सिट सुरक्षितगरि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

देहरादूनबाट आउनु भएका ज्ञानप्रचार भारत बहादुर ठाकुरले सत्संगलाई सम्बोधन गर्दै भन्नुभयो कि आफू नेपालमा सत्गुरु माता जीको सन्देशलाई ठाउँ–ठाउँमा पु¥याउनको लागि आएको बताउँदै भारतको हरियाणामा हुन गइरहेको निरंकारी सन्त समागममा नेपालबाट बढीभन्दा बढी सहभागी हुन सबैलाई निमन्त्रणा गर्नुभयो । नेपालका सन्तहरुको प्रेमको प्रशंसा भारतका सन्तहरुले गरेको बताउँदै सत्गुरुले पनि हामीलाई यहि सिखलाई दिएको छकि संसारमा प्रेमलाई फैलाउनु छ । प्रेमबाट नै संसार स्थापित गर्नु छ । प्रेमलाई धारण गरेर नै जीवन जिउनु छ । संसारमा जतिपनि विद्याहरु छन् तिनीहरुमध्ये सबैभन्दा उत्तम विद्या भनेको ब्रम्ह विद्या हो । हामी कति भाग्यमानी छौ, यो ज्ञानलाई पाउँदा पनि त्यसलाई सम्झने कोशिश गर्दैनौ भने त्यो हाम्रो कमजोरी हो, त्यसको कारण हामी स्वयं नै हौ, अरु कोहि होइन । हामीले बोलीबाट नभएर कर्मबाट आफ्नो पहिचान बनाउनु छ । सत्गुरुले हामीलाई भक्ति गर्ने तरीका सिकाउनु भएको छ, जिउने ढंग सिकाउनु भएको छ । ब्रम्हज्ञान पाईसकेपछि हामीले कहिल्यैपनि भ्रम–भूलेकामा फस्नु हुँदैन । संसारबाट सधैं सचेत रहनु छ, उहाँले बताउनु भयो ।
सत्गुरु बाबा हरदेव सिंह जीको प्रसङ्गलाई निकाल्दै उहाँले भन्नुभयो कि एक मिडिया कर्मी जो सधैं जहाँ–जहाँ सन्त समागम हुन्थ्यो, त्यहाँ–त्यहाँ जाने गथ्र्यो, कुनैपनि समागम छोड्दैन्थ्यो । सबैले धन निरंकार जी भनेको सुनेर आफूले पनि धन निरंकार जी भन्न थाल्यो । एक दिन सत्गुरु बाबा जी कहाँ नमस्कारी गर्दै गयो र भन्यो बाबा जी ! समागमा सहभागि हुन अनेकौ भेशभूषा, रहन–सहन, खान–पान भएका मान्छेहरु आउने गर्छन् । मैले एउटा कुरा बुझेन कि सेवादलहरु सन्तहरुलाई आउनु होस महापुरुष, आउनु होस महापुरुष भनेर बोलाई रहेका हुन्छन् । यो महापुरुष भनेको के हो ? बाबा जीले मुस्कुराउँदै भन्नुभयो कि यस्तो कुनै कुरा होइन, महापुरुष भनेको पूरा संसारमा सबैभन्दा उत्तम पुरुष, जसलाई ब्रम्हज्ञान भएको छ, महापुरुष केवल शब्दसम्म मात्र सिमित छैन, उनीहरुलाई जीवन जिउने तरीका थाह भएको छ, भक्ति गर्ने ढंग मिलेको छ, जो सत्गुरुले सिकाएको छ जसलाई दिव्य गुण भनिन्छ । जस्तै प्रेम, मिलवर्तन, दया, करुणा, सद्भाव, सम्मान, सेवा, सहनशीलता, क्रोधनको परित्याग आदिलाई अपनाउने वाला नै महापुरुष हो, भनेर बाबा जीले सम्झाउनु भयो । यसरी हेर्दा यदि हामीले उपरोक्त कुनै गुणलाई अपनाएका छैनौभने हामी महापुरुष कहलाउनुका हकदार हुन सक्दैनौ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा प्रसन्न बटाला, लक्ष्मी सोनी, आयुषमान ठकुल्ला, भावना एवं साथी, लक्ष्मी बोहरा, हर्क बटाला, चन्द्र सिंह भूल, इन्द्र सिंह, सेवादल संचालक जगत सुनार, चेतना रेग्मी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य श्रीराम काफ्ले, गगन सिंह, टीकापुर भवनका मुखी महादेव भण्डारी, नैन सिंह, सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सदस्य देवराज रिमाल, क्षेत्रीय सेवादल संचालक नर बहादुर बटाला, सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल र देहरादूनबाट आउनु भएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आफ्नो भाव व्यक्त गरेका थिए भने सन्तुष्ट रावल, तुलसी बोहरा र राजन रेग्मीले कविता पाठ गरेका थिए । कार्यक्रमको संचालन मिडिया सहायक दीपक रावलले गरेका थिए ।
सत्संग संचालन हुनुभन्दा अगाडि सेवादलका जवानहरुले टीकापुरको सिटी हलको प्राङ्गण तथा बजारका केहि स्थानहरुमा सरसफाई रहेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.