ललितपुरको इमाडोलमा वृहत सत्संग सम्पन्न

ललितपुर, १९ असोज । ललितपुरको इमाडोलमा वृहत सत्संग सम्पन्न भएको छ।

सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यलय तथा सत्संग भवन रहेको इमाडोलमा भारतबाट आउनु भएका ज्ञानप्रचारक सुरेन्द्र नाथ त्रिपाठीले संसारलाई सजाउने–बनाउने कार्य आज निरंकारी मिशनले गरिरहेको बताउनु भएको छ । उहाँले आज दास भारतबाट यहाँ आएको छ, हजूरहरुसंग कुनै चिन–जान छैन तर यहाँ हजूरहरुबाट अपार माया–प्रेम पाइरहेको छु । यो सबै कसरी सम्भव भयोभन्दा त्यो सत्गुरुको कृपाबाट मात्र भएको हो । आज निरंकारी मिशनले संसारमा प्रेम नै प्रेम फैलाई रहेको छ । मानवलाई मानव बनाई रहेको छ । हामी सबै एउटै ईश्वर–परमात्माका सन्तान हौ, हामी सबै एउटै परिवारका सदस्य हौ । त्यही भावनाबाट यहाँ आएर पनि सहज अवस्था प्राप्त भएको छ । सबै सन्त परिवार आफ्नै परिवार लागि रहेका छन्, यहाँ कोहि आफ्नो–विरानो छैन, सबै आफ्नै हुन । यहि भावनाको विकास आज सत्गुरु माता जीले मिशनमा गराई राख्नु भएको छ, उहाँले बताउनु भयो ।


सत्गुरु माता जीले हामी सबैलाई एक ब्रम्ज्ञानबाट एक परमात्माको जानकारी गराई राख्नुभएको छ । एक परमात्मासंग हाम्रो बोध गराई परमात्माको ज्ञान हामीलाई दिनु भएको छ । जब हामी सबैले एक परमात्माको ज्ञान हासिल गरयौं र एक परमात्मालाई देख्यौं भने हामी सबै एक परमात्माका सन्तान भयौं । त्यसैले सन्तहरु भन्छन् कि हामीलाई कुनै देशको बोर्डर वा सिमा रेखा देखा पर्दैन, जहाँ देख्छौ तिमी नै तिमी छौ, सबैको ह्दयमा यो निराकार–परमात्माले नै वास गरिरहेको छ । यस्तो किसिमको भाव हामीलाई केवल सत्गुरुको शरणमा जीवन व्यतित गरेपछि मात्र पाईन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

हाम्रो रुप, रंग, धन–सम्पत्ति, घर–परिवार, जायजेथा एक दिन सबै यहि छुट्ने छन् । हामीसंग केहि पनि साथ जाने छैन् । हामीसंग जाने भनेको यो निराकार–परमात्मा मात्र हो । यसैले हामीलाई भवसागरबाट पारी तार्ने छ । सत्गुरुको शरणमा आएर सेवा, सत्संग, सुमिरण गर्दै जीवन व्यतित गर्छौ भने हामी भवसागरबाट पारी तर्न सक्छौ । ब्रम्हज्ञान नलिनुभन्दा पहिले हामी जाति–पाति, भेशभूषा, रहन–सहन, खान–पान, सानो–ठुलो, धनि–गरीबको भेदभावमा अल्झिएका थियौं, तेरो–मेरोमा जीवनलाई व्यार्थमा गुमाई रहेका थियौं तर आज सत्गुरुको कृपाबाट ब्रम्हज्ञान प्राप्त भइसकेपछि यो बन्धनको सबै सिमा समाप्त भएर गयो । हामी सबै एक परिवार भयौं, एक–अर्कासंग प्रेम गर्न थाल्यौ र संसारलाई पनि प्रेम बाँड्न थाल्यौं जसबाट संसारमा विश्वभाइचाराको सन्देश फलिन थाल्यो । यो सबै सत्गुरुको कृपाबाट मात्र सम्भव भएको उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा भारतबाट आउनु भएका नन्नेलाल शर्मा, मुन्ना यादव रहेका थिए भने बाबुकाजी महर्जन, कुण्डन, पूर्व न्यायाधीश मिहिर ठाकुर, सेवादल क्षेत्रिय संचालक बाबुराजा महर्जन, सन्त निरंकारी मण्डल नेपालका उपाध्यक्ष कृष्ण पन्थ, बुद्ध केदार महर्जन, अर्जुन, मिना महर्जन, सरस्वती महर्जन, बीरेन्द्र चौधरी, शान्ति, ध्रुव अधिकारी आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले गरेका थिए ।

उक्त अवसरमा महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जीवी पौडेलको विशेष उपस्थिति रहेको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.