कञ्चनपुरको पुर्नवासमा सत्संग सम्पन्न

पुर्नवास (कञ्चनपुर), २३ असोज । कञ्चनपुरको पुर्नवासमा सत्संग सम्पन्न भएको छ ।

सन्त निरंकारी सत्संग भवन पुर्नवासमा आयोजना गरिएको विशाल सत्संग समारोहलाई सम्बोधन गर्दै देहरादूनबाट आउनु भएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले एउटा कथाको उदाहरण दिदै भन्नुभयो कि कुनै जंगलमा आगो लागि रहेको थियो, आगो लाग्दा सानो चराले आफ्नो थुतुनुमा नदीबाट पानी भरेर जंगलको माथि–माथि उडेर त्यस आगोलाई बुझाउने प्रयास गर्छ, त्यो देखेर कसैले सोध्यो कि तिमी यति सानी छौ, तिम्रो थुतुनु पनि यति सानो छ, के यो पानीबाट जंगलको आगो निभ्न सक्छ ? त्यस चराले भन्यो, मैले प्रयास त गरिरहेको छु । चाहे मेरो थुतुनुमा पानी थोरै छ, तर जुन मेरो मनको भाव छ यस आगोलाई निभाउनुको । एक न एक दिन मेरो नाम आउने छ कि फलाना चराले आगो निभाउने प्रयास त गरेको थियो । यसबाट हामी ठुलो शिक्षा हासिल गर्न सक्छौ । आज संसारमा चारैतिर आगो लगाउने जमात मात्र भेटिन्छन्, त्यहि सन्तहरुको जीवनमा प्रवेश गर्छौ भने उनीहरु सत्गुरुको सिखलाई अनुसार संसारमा जहाँ पनि गएका छन्, तिनीहरुले आगो निभाउने काम गरेका छन् । शितलता दिने काम गरेका छन् । सन्तको कारणले गर्दा नै यो संसार बाँचेको छ, उहाँले बताउनु भयो ।


आज सत्गुरुले हामीलाई ब्रम्हज्ञान प्रदान गरेर सन्त बनाउनु भएको छ । संसारमा सबैभन्दा ठुलो पद्वी भनेको नै ब्रम्हज्ञानी महापुरुषको हो । सत्गुरु सागर हुन भने सन्त बादलको समान हुन । सत्गुरुले समुन्द्रबाट पानीलाई सोसेर संसारमा वर्षा गरेर सुकुन प्रदान गर्नु हुन्छ । संसारको भूमिलाई शितलता प्रदान गर्नु हुन्छ । सत्गुरु चन्दनको समान हुनुहुन्छ । जोपनि उनको शरणमा आउँछ तिनीहरुलाई आफू जस्तै बनाई दिनु हुन्छ । सन्तहरुले पनि सत्गुरुबाट ब्रम्हज्ञान पाएर संसारमा बाँड्दै जाने गर्दछन् । सत्गुरुले हाम्रो भेशभूषा, रहन–सहन, सस्कृति, खान–पान आदि केहिपनि बदलाव गर्नुभएन तर हाम्रो मनको भावलाई परिवर्तन गर्नुभयो । ब्रम्हज्ञान प्रदान गरेर जीवन जिउने ढंग सिकाउनु भयो, उहाँले सम्झाउनु भयो ।

उत्तराखण्डका सन्त टेकबहादुर जो नेपालीमा पहिलो ज्ञानप्रचारक, सेवादल शिक्षक र पूर्व सैनिकमा काम गर्नु हुन्थ्यो, उनको गुरसिखको महत्वलाई दर्शाउँदै उहाँ भन्नुहुन्छ एक समय शहनशाह जी मंसुरी आउनु भयो, त्यस समय उनको स्वास्थ्य निकै नाजुक थियो । यो घट्ना १९६९ को हो । यसै वर्ष उनले आफ्नो शरीर त्यागेर ब्रम्हलिन हुनुभएको थियो । मृत्यु हुुनु पूर्व डाक्टरहरुले शहनशाह जीलाई पूर्णरुपमा आराम गर्नको लागि भनेका थिए साथै गाईको दूध पिउनु भनेका थिए । त्यतिबेला मंसुरीमा गाईको दूध पाउनु निकै कठिन कार्य थियो । यहि सन्देश ४५ किलोमिटर टाढा रहेका गुरसिख टेक बहादुरको कानमा पुग्यो, उनले त्यसै राति बिहान ४ बजे उठेर पैदल हिडेर गाईको बाच्छालाई काँधमा बोकेर गाईलाई हातमा डो¥याउँदै उनी साँझ मंसुरी पुगे । त्यो देखेर सबै सन्तहरु अचम्मित भए । गाई र गाईको बाच्छालाई यति टाढा बाबा जीको लागि ल्याउनु भयो । पछि बाबा जी र उनको भेट भयो । बाबा जीले उनलाई गला लगाउनु भयो । यहि हो गुरसिख वालो भाव । गुरसिख दुःख, पिडा, कठिनाई, थकाईदेखि डराउँदैन, ऊ सधैं सत्गुरुको आदेशमा रहेको हुन्छ र सेवामा तत्पर रहन्छ । स–साना कुराले गर्दा नै मन टुट्ने गर्दछ, हामी सत्संग, सेवा, सुमिरणबाट टाढा भाग्न जान्छौ । यसको कारण कोहि नभएर हामी स्वयं नै हौ । दुःख–सुखको कारण पनि हामी नै हौ । दुःख र सुखलाई सत्गुरुको प्रसाद मानेर त्यसलाई स्वीकार गरौं । त्यसैमा हाम्रो भलाई लुकेको छ, उहाँले भन्नुभयो ।

एउटा व्यक्ति खाली खुट्टाले हिडी रहेको थियो, त्यससंग चप्पल पनि थिएन । मन–मनै भगवानसंग गुनासो गरिरहेको थियो कि मलाई यस्तो के दुःख दियौं भगवान, आज गरीबीको कारणले म आफ्नो बुवाआमाको पनि सेवा–सत्कार गर्न सकिरहेको छैन । अलिपर पुगेपछि उसले आफ्नो अगाडि दुईटै खुट्टा नभएको एउटा मान्छेलाई देख्छ । ऊ खुट्टा नभएका कारण घुँडाको बलले घिस्रदै अगाडि बढि रहेको थियो । प्रचण्ड गर्मीको समय थियो । त्यो दृष्यलाई देखेर त्यस मान्छेलाई झट्का लाग्यो र भन्यो परमात्मा मेरो गल्ति भयो । तिमीले मलाई खुट्टा पनि दिएका छौ, स्वस्थ–स्र्फूत पनि छु । मेरा सबै अंग सही छन्, म पढेलेखेको पनि छु । अहिले रोजागर छैन भने के भयो त ? म मेहिनत गर्न सक्छु । यसबाट उसको भाव परिवर्तन भएर आयो । संसारमा दुःखी किन हुन्छन् भने अर्काको सुखलाई देखेर दुःखी हुन्छन्, उहाँले बताउनु भयो ।
सत्गुरुले हामीलाई समानता, समदृष्टि, समभावबाट बस्न सिकाउनु भएको छ । लोभ, अहंकार, वैर, अभिमानलाई त्याग्न सिकाउनु भएको छ । हामी सबै एक ईश्वरका सन्तान हौ, सबैसंग प्रेम–नम्रताको भावना फैलाउँदै जानु छ भन्दै आफ्नो १५ दिनको नेपाल टुर यात्रालाई यहाँबाट विराम दिदै सकुशल आफ्नो घरमा पुग्न सकौभनि आशीर्वाद माग्दै नेपालका सबै सन्त–भक्तहरुलाई हरियाणामा भइरहेको ७७औ निरंकारी सन्त समागममा आउन निमन्त्रणा गर्नुभयो ।
सत्संग कार्यक्रममा लब्ली, बल बहादुर, गगन, दिल्ली सिंह,भैरव सिंह, दिल बहादुर, धन बहादुर, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, भवनका मुखी राम प्रसाद गुरुङ्ग, गायक तेज बहादुर, दिपक, सुदर्शन, कैलास, सेवादल संचालक विशन सिंह, उमा, अमिशा, सुदिक्षा एवं साथी, लता, ज्योति, किरण, मुना, तुल्सी, अमृता, ज्योति, कौशिला, इन्द्रा, निर्मला, इन्द्रा दानपती र देहरादूनबाट आउनु भएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन मिरा सुनारले गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.