बर्दियाको ललितापुरमा वृहत सत्संग कार्यक्रम सम्पन्न

ललितापुर (बर्दिया), १६ चैत्र । बर्दियाको ललितापुर (राजापुर) मा वृहत सत्संग कार्यक्रम सम्पन्न भएको छ । बर्दियाको ललितापुरमा रहेको भेरी माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजित गरिएको वृहत सत्संगमा विभिन्न ठाउँबाट आएका साधसंगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले परमात्माले हामीलाई अमूल्य मानव योनिको जन्म दिएको छ तर हामी आफ्नो क्षणिक आनन्दको लागि मानवतालाई भूलिरहेका छौ । संसारमा आज मानवलाई मात्र मानव बन भनेर बारबार भनिएको छ तर कुनै प्राणीलाई तिमी आफू जे छौ त्यो बन भनेर सम्बोधन गरिदैन । अर्थात कुकुरलाई तिमी कुकुर जस्तो बन वा भैसीलाई तिमी भैसी बन भनेर भनिदैन किनकि उनीहरुले ईश्वरले दिएको आफ्नो कार्य गरिरहेका छन् तर मनुष्यले आफूले गर्ने कार्यलाई बिर्सिसकेको छ । आज यस्तो किसिमको परिस्थिति किन आयोभन्दा किनकि मानवले आफ्नो मानवता हराई सकेको छ । यसैले सन्त निरंकारी मिशनले मानवलाई मानव बनाई रहेको छ । कुलको पहिचनको लागि कुनै पशु–पंक्षीको बलिदान दिरहेका हुन्छौ किनकि हामीलाई आफ्नो बास्तविक कूलको पहिचान हुन सकेको छैन । जबसम्म हामीलाई आफ्नो वास्तविक कुलको पहिचान हुन सक्दैन तबसम्म हामी पशु–पंक्षीको बलि दिरहने छौ । आज हामी परमात्मा भनेर प्रकृतिको पूजा गरिरहेका छौ, जुन नाशवान रहेका छन् । जस्तै सूर्य, चन्द्रमा, आकाश, वायु, आगो, जल, थल आदि सबै नाशवान रहेका छन् । यी सबैको निर्माण ईश्वर परमात्माले नै बनाएका हुन । यिनीहरु अटल–अविनाशी छैनन्, केवल परमात्मा नै अटल–अबिनासी रहेको छ । यसको न त जन्म हुन्छ, न त मृत्यु नै । यसले नै यसको कल्याण गर्छ । आज सन्त निरंकारी मिशनले यसै परमात्माको दर्शन गराएर मानवलाई मानव बनाई रहेको छ, उहाँले बताउनु भयो ।

कुनैपनि धार्मिक पुस्तकहरु पढेर कोहिपनि पण्डित, पादरी, धर्मगुरु हुन सकिदैन जबसम्म हामी ढाई अक्षर प्रेमको बढ्दैनौ । हाम्रो ह्दयको प्रेमलाई केवल सत्गुरुले नै जोड्न सक्छ, जसबाट विश्वमा शान्ति–अमन–चैन, विश्व भाइचाराको वातावरणलाई स्थापित गर्न सक्छ । सत्गुरुले मूलको पहिचान गराउँछ, हामी सबै ईश्वरका अंश हौ, शरीर होइनौ । काला–गोरा, साना–ठुला, धनि–गरीब सबै ईश्वरका सन्तान हुन । त्यसैले भनिएको छ, ‘मानवका मानव हुन प्यारा, एक–अर्काका बनुन सहारा’ । जब हामी मानवसंग प्रेम–सत्कारको भावलाई दर्शाउँछौ तब हामी मानवताको गुणलाई अंगिकार गरेर अगाडि बढ्न सक्छौ, उहाँले बताउनु भयो ।


उहाँले अगाडि भन्नुभयो कि आज संसारमा बृद्धा आश्रमको निकै निर्माण कार्यहरु भइरहेका छन् । हामी आफ्ना बुढा आमा–बुवालाई बृद्धा आश्रममा लिएर राख्छौ, आफ्नो घरमा उनीहरुको सेवा–सत्कार गर्न सक्दैनौ भने बाहिर जस्तोसुकै परोपकारी काम गरौं, त्यसबाट कुनै किसिमको पुण्यको लाभ प्राप्त गर्न सक्दैनौ । मानवले मानवसंग प्रेम गर्न सक्दैन भने कहाँबाट मानवता पलाउन सक्छ । त्यसैले सन्त–महात्माहरु भन्नुहुन्छ, ‘साधु बन्ना सहज है, बन्ना कठिन दास । अगर दास बनगया तो हाड्डी रहा न मास ।’ अनेकौ भेषधारी साधु बन्न सजिलो छ तर दास बन्न अप्ठ्यारो छ । किनभने दास बन्नको लागि समर्पणको आवश्यकता पर्दछ । श्रद्धाभावको आवश्यकता छ । तन, मन, धनलाई हामी आफ्नो मानि रहेका थियौं तर यो सबै ईश्वरको हो, हाम्रो केहिपनि होइन । यो हाम्रो साथमा जानेवाला छैन । शरीर हाम्रो वशमा छैन । यदि शरीर हाम्रो वशमा भएको भए जो हामी परिवर्तन चहान्छौ त्यो हुन्थ्यो, त्यस्तै मन हाम्रो वशमा भएको मनले चाहेको गर्न सक्थ्यो । त्यस्तै धन हाम्रो वशमा छैन किनभने मनले चाहेको हुन्छ म धनि बनु, धेरै पैसा कमाउन सकु भन्ने हुन्छ तर त्यो चहान पूरा हुन सक्दैन । यसरी जे वशमा छैन त्यो ईश्वर–परमात्माको हो । परमात्माको उपहार हो । हामी आफ्नो मानेर संसारमा भुलि रहेका थियौं तर आज समयको सत्गुरुले ब्रम्हाज्ञान प्रदान गरेर सम्झाई रहेको छ, हामी जागृत गरिरहेको छ । पाँच प्रण र नौ प्रकृतिको बारेमा जागृत गरेर त्यसै अनुसार अगाडि बढ्न प्रेरित गरिरहेको छ भनेर उहाँले बताउनु भयो ।

सन्त निरंकारी मिशनमा आएर हामीले ब्रम्हज्ञान त प्राप्त गरयौं तर सत्संग पनि गरिरहेका छौ तर सत्गुरुले भनेको मार्गमा आफ्नो कर्मलाई डो¥याउदैनौ भने सन्त भएको कुनै काम आउँदैन । शरीरको माध्यमबाट नै ब्रम्हत्व प्राप्त गरिसकेपछि मात्र ब्रम्हमा मिल्न सकिन्छ । सागरको अंश पानी हो, आगोको अंश सूर्य हो भने आत्माको अंश परमात्मा हो । त्यसैले भनिएको छ, ‘जसको भक्ति जसको पूजा, उसको ज्ञान जरुरी छ । भन्छ ‘हरदेव’ पहिला ईश्वरको पहिचान जरुरी छ ।’ जब आत्मा आफ्नो मूलको पहिचान गर्छ अर्थात परमात्मालाई जान्दछ भने तब आत्माको मुक्ति हुन्छ । संसारमा अरु कुनै प्रकारले मुक्ति प्राप्त हुन सक्दैन । ब्रम्हलाई जानेपछि मात्र यो आत्माले मोक्ष प्राप्ति गर्न सक्छ, उहाँले बताउनु भयो ।

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा हो । मिशनले कुनैपनि मानिसको धर्म होइन, भावना परिवर्तन गराउने गर्दछ । यसले न त कुनै नयाँ रितिरिवाजको जन्म दिन चहान्छ न त कुनै पुरानो रितिरिवाजलाई तोड्न चहान्छ । यसले एउटै कुरालाई जोड दिन्छ कि संसारमा एक मात्र ईश्वर–परमात्मा रहेको छ । हामी सबै प्राणी यसै एक ईश्वर–परमात्माका सन्तान हौ । यसलाई जान्न योग्य छ र यसलाई जानेर मात्र समाजमा प्यार, नम्रता, सद्भाव, एकता, मिलवर्तन, विश्वबन्धुत्व वा भाइचार कायम हुन सक्छ । जब हामीलाई सबै प्राणीहरुमा एउटै परमात्माको बास रहेको हुन्छ भन्ने कुराको ज्ञात हुन्छ तब हामीमा प्रेम, नम्रता, सत्कार, एकता र मिलर्तनको भावनाको विकास हुन सक्छ, उहाँले प्रष्ट पार्नुभयो ।

राजपुर बर्दियाका वाड अध्यक्ष राजेश थारुले हरदेव बाणीको सहारा लिदै भन्नुभयो– ‘जसको भक्ति उसको पूजा, उसको ज्ञान जरुरी छ । भन्छ ‘हरदेव’ पहिला ईश्वरको ज्ञान जरुरी छ ।’ आज संसारमा मानवता हराई सकेको छ । धेरैले भन्ने गर्छन् कि कलियुग लाग्यो भनेर तर कलियुग होइन हामी बिर्सिरहेका छौ, त्यसैले मानवता लुप्त भइरहेको छ । यदि हामी ब्रम्हज्ञानतिर आकर्षित हुन्छौ वा ब्रम्हज्ञानलाई आत्मसाथ गर्छौ भने मानवता पुनः जुरमुराएर उठ्न सक्छ, उहाँले विचार राख्नुभयो ।

उहाँले अगाडि भन्नुभयो कि यदि ब्रम्हज्ञानलाई हामी आफ्नो जीवनको प्रमुख अंग बनाउँछौ भने समाजमा फेरि भाइचारको पलाउन सक्छ । आज हाम्रो वडामा सन्त निरंकारी मिशनको कार्यक्रम आयोजित भएकोले वडावासी अत्यन्तै खुशी भएको आभार प्रकट गर्नुभयो । यस मिशनलाई हाम्रो वडाले सक्दो सहयोग दिने वचन प्रतिवद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा लघु दरबारको पनि आयोजना गरिएको थियो, जसमा तुलसी बोहरा र दिपक रावलले आफ्नो भाव प्रकट गरेका थिए ।
तुलसी बोहराको कविताको बोल थियो–
जगतमा कोहि छैन ठुलो केवल सत्गुरु नै हुन महान,
अरे ! किन भुलेका छौ मानव, गरौं ब्रम्हको पहिचान ।

त्यस्तै दिपक रावलको कविताको बोल थियो–
सत्गुरुले नै मानवताको मार्ग देखाई दिन्छ, आनन्दले नै जीवन जिउने कला सिकाई दिन्छ ।
समयको सत्गुरुलाई जान्न सक्यौं भने, अनमोल जीवन बचाई दिन्छ मान्न सक्यौं भने ।
त्यस्तै सन्त निरंकारी मण्डलका केन्द्रिय सल्लाकार श्रीराम काफ्लेले सम्पूर्ण धर्मको साझा मंच निरंकारी मिशन बताउनु भएको छ । यहाँ कुनै धर्मलाई विशेष ग्राहेता दिइदैन, सबैलाई समान दृष्टिकोणले हेरिन्छ । सबै मानवको मिशन निरंकारी मिशन हो । मिशनले संसारका मानवलाई मानव बन भनेर जागृत गराई रहेको छ । आज मान्छेले आफूले गर्ने कार्यलाई बिर्सेर अर्को ट्रयाकमा हिडी रहेको छ । मिशनले मानवलाई सही ट्रयाकमा ल्याएर मानव बनाई रहेको छ, उहाँले बताउनु भयो ।

सन्त निरंकारी सत्संग भवनका मुखी महादेव भण्डारीले आध्यात्मिक शिक्षा नै भौतिक उन्नतिको पूरक हो भन्ने विषयमाथि प्रकाश पार्नु भएको थियो ।
त्यस्तै सन्त निरकारी आदर्श विद्या मन्दिरका शिक्षक कान्ती प्रसाद ज्ञावलीले हामी भौतिक रुपमा रहेको एैनामा अनुहार कस्तो छ भनेर हेर्न त सक्छौ तर आफूभित्रको अवस्था कस्ता भनेर हेर्नको लागि सत्गुरुको शरणमा आउन आवश्यक भएको बताउनु भयो ।

गुजरातबाट आउनु भएका ज्ञान प्रचारक बिक्रम सोनीले भन्नुभयो कि आज सत्गुरु माता सुदीक्षा जी महाराजले संसारमा मानव कल्याणको लागि ब्रम्हज्ञानलाई बाँडी राख्नु भएको छ । विश्वका मानवलाई सुख–शान्ति, आनन्द दिनको लागि रातदिन लागि पर्नु भएको छ । ब्रम्हज्ञाको ज्योति फैलाएर मानवमाथि परोपकार गरिराख्नु भएको छ, उहाँले बताउनु भयो ।

अन्तमा कार्यक्रमका संयोजक लोकराज जोशीले आएका सम्पूर्ण सन्त भक्तहरुलाई धन्यवाद दिदै सहयोग पु¥याउने सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
सत्संग कार्यक्रममा लक्ष्मी सोनी, महेन्द्र रावल, खिमा एवं साथी, भद्रा रेग्मी, प्रह्लाद रावल, धनसरा तिरुवा, रतिलाल एवं साथी, सडकपुर बौनिया सत्संग भवनका मुखी विजय कुँवर, प्रेम सिंह बि.क., हेर बहादुर, सन्दीप कस्याप, नैन सिंह एवं साथी, प्रशन्न बटाला, दिपमाला गोडीया, नितु एवं साथी, राम सुन्दर यादव, जमुना एवं साथी र धन्नजय एवं साथी तथा स्थानीय राजनीतिक तथा समाजसेवीहरुले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने मंगलाचरण गायक तेज बहादुर बोहरा र धुनी निशा एवं साथीले प्रस्तुत गरेका थिए । सत्संग कार्यक्रमको संचालन राजन रेग्मीले गर्नु भएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.