घटना

भोजपुरका राजेन्द्र : १४ वर्षे किशोरी भगाए, माइतीबाट गएपछि ससुरालीका सबैको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२, धोद्लेखानी बोन्थिताङ ज्वाइँले श्रीमतीसहित ससुरालीका चार जनाको हत्या गरेपछि स्तब्ध र शोकमग्न बनेको छ । पारिवारिक विवादका कारण सुरु भएको झगडाले यति कहालीलाग्दो रूप लेला भनेर धोद्लेखानीका बासिन्दाले कहिल्यै सोचेका थिएनन् ।

भोजपुर नगरपालिका-२ हेलाउँछका ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर श्रीमती, सासू-ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार हत्या हुनेहरूमा राजेन्द्रकी १५ वर्षीया श्रीमती, १० वर्षीय सालो, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी र ४५ वर्षीया सासू मञ्जु गिरी रहेका छन् । हत्यापछि आरोपी राजेन्द्रले आफैँलाई पनि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए । गम्भीर घाइते उनको भोजपुर जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

बिज्ञापन

के थियो विवादको जड ?
घटनाको पछाडि बालविवाह र त्यसले निम्त्याएको पारिवारिक कलह मुख्य कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार, राजेन्द्रले एक वर्षअघि १४ वर्षकी किशोरीलाई भगाएर विवाह गरेका थिए । उमेर नपुगी विवाह गर्न किशोरीका परिवारले अस्वीकार गरेपछि राजेन्द्रले उनलाई भगाएर लगेका थिए । तर, घरमा परिवारले राम्रो व्यवहार नगरेका कारण किशोरी केही समयपछि नै माइतीघर धोद्लेखानी फर्केकी थिइन् ।

श्रीमतीलाई फिर्ता लैजान राजेन्द्र १५ दिनअघि ससुराली पुगेका थिए । रामप्रसाद राई गाउँपालिका-२ की वडा सदस्य प्रभा राई तामाङका अनुसार उनी यही अवधिदेखि ससुरालीमै बस्दै आएका थिए । श्रीमतीले उनीसँग जान अस्वीकार गर्ने र सासू-ससुराले पनि छोरीकै पक्ष लिएपछि आक्रोशमा आएर राजेन्द्रले यो बीभत्स हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

आरोपितको यस्तो बयान
गम्भीर घाइते अवस्थामा रहेका आरोपित राजेन्द्रले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा घटनालाई फरक ढंगले प्रस्तुत गरेका छन् । उनले राति सुतिरहेको बेला सासू मञ्जु गिरीले आफूमाथि छुरीले आक्रमण गरेको र प्रतिकारका लागि त्यही छुरी खोसेर सबैलाई प्रहार गरेको दाबी गरेका छन् । उनको पेटमा दुई-तीन ठाउँमा गहिरो चोट देखिएको छ ।

मध्यरातमा एउटै घरभित्र चार जनाको हत्या हुँदा पनि छिमेकीले पत्तै पाएनन् । बिहान उज्यालो नहुँदै प्रहरीको गाडी गाउँमा पुगेपछि मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए । यसअघि कहिल्यै यस्तो घटना नदेखेका स्थानीयवासी त्रसित छन् । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय घोडेटारको संयुक्त टोलीले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनास्थल वरपरका डाँडापाखामा भेला भएका स्थानीयले यो अकल्पनीय घटनामाथि विश्वास गर्न सकिरहेका छैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।