मजदुरी गर्न गएका भुजेलको मृगौला बेचियो, प्रहरीले थाल्यो अनुसन्धान

सिन्धुली । दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेल मानव अंग मृगौला चोरीएको खुलेको छ । पोखरामा मजदुरी गर्न गएका भुजेललाई रोजगारीको प्रलोभन देखाई भारतमा लगेर मृगौला चोरी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । भुजेललाई होटलमा काम लगाइदिने भन्दै एकजना अपरिचित व्यक्तिले भारत लगेको पीडितले प्रहरी र परिवारलाई बताएका छन ।
भारतमा पु¥याएर उनलाई बेहोस बनाई एउटा मृगौला निकालिएको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन । पारिवारिक स्रोतका अनुसार उनी तीनदिन अघि शल्यक्रिया गरिएको घाउ सहित दुधौली घर फर्केका थिए ।

घर फर्किएपछि भुजेललाई ज्वरो आएपछि उपचार गरिँदा डकाहामा रहेको समिट माउन्टेन हस्पिटलका चिकित्सकले उनको शरीरमा एउटा मात्र मृगौला रहेको पुष्टि गरेका थिए । भारत लैजाने व्यक्तिले पीडितलाई जटिल रोग लागेर बेहोस भएपछि उपचार गराइएको भनेका थिए । भुजेललाई भारत पु¥याउने व्यक्ति हालसम्म एकीन हुन सकेको छैन ।
करीव ३५, ४० वर्षको हाराहारीको उमेर रहेका भुजेल लामो समयदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । शनिबार मात्र उनी अस्वस्थ भएर घर आएका थिए । घर फर्किंदा उनको पेटमा पट्टी बाँधिएको थियो । उनले आफु होसमा आउँदा काठमान्डौको कलंकीमा रहेको पाएको प्रहरीलाई बताएका छन ।
उनी कलंकीबाट काका नाताका व्यक्तिलाई फोन गरि काकाको सहारामा सिन्धुली आएका थिए । घरमा आएपछि आइतबार साँझ आफ्नी भाउजु सिता माझीलाई आफुलाई धेरै दुखेको भन्दै पेटको घाउ देखाएका थिए । घाउमा २० वटा टाँका लगाईएको देखिएको थियो । सोमबार उनलाई धेरै ज्वरो आएपछि डकाहामा रहेको समिट माउन्टेन हस्पिटलमा उपचारका लागि लगिएको थियो । हस्पिटलमा भिडियो एक्सरे गरेपछि डा. नविन वयरले एउटा मृगौला नभएको पुष्टि गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।
पीडित भुजेलले केहि समय आफुले भारतको होटलमा काम गरेको समेत बताएका छन । उनलाई राम्रो तलब दिने भनेर भारत लगेको बताउँदै आएका छन ।
उनको स्वास्थ्य अवस्था कमजोर भएको र घटनाको ’boutमा सबै विवरण भन्न सक्ने अवस्थामा छैनन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी सुवेदीका अनुसार उक्त घटनाको ’boutमा नेपाल प्रहरीको मानव वेचविखन व्युरो काठमान्डौले अनुसन्धान सुरु गरिसकेको छ । पीडितलाई भोली नै काठमान्डौ उपचारका लागि पठाउने तयारी भईरहेको समेत सुबेदीले बताएका छन ।
पीडित स्थानीय प्रहरीको समन्वयमा रहेका छन । पीडितबाट धेरै कुरा नखुलेपछि सिन्धुली प्रहरीले अनुसन्धानका लागि मानव वेचविखन ब्युरोसँग समन्वय गरेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
