मनोरञ्न

भदौ महिनामा रिलिज हुँदै ८ नेपाली चलचित्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भदौ महिनामा चाडपर्व बढी हुने गरेका कारण पनि अन्य महिनाको तुलना यो महिनामा नेपाली चलचित्र बढी संख्यामा रिलिज हुने गर्छन । यस्तै यस वर्षको भदौ महिनामा पनि नेपाली चलचित्रहरूको ठुलै भिडन्त हुने भएका छ ।

नेपाली चलचित्रको लागि विशेष महिनाको रूपमा हेरिएको यस पटक भदौ महिनामा मात्र ८ वटा नेपाली चलचित्र प्रदर्शन हुने भएका छन् । यी सँगै बलिउड र हलिउडका पनि त्यत्तिकै चलचित्रहरू नेपालमा भदौमा रिलिज हुँदै छन् । यसरी एक महिना भित्र नेपाली मात्रै ८ वटा चलचित्र रिलिज हुने भएपछि चलचित्र घरमा नेपाली चलचित्रको आपसी प्रतिस्पर्धा पनि निकै कडा हुने देखिएको छ ।

बिज्ञापन

भदौको पहिलो साता तीन वटा चलचित्र एकै दिन रिलिज हुँदै छन् । यो वर्षको तीजलाई लक्षित गरेर ६ भदौमा तीन नेपाली चलचित्रहरू ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ रिलिज हुन लागेका हुन् । यी तीन वटै चलचित्र फरक जनराका रहेका छन् । यी तीन चलचित्र मध्य प्रचारको हिसाबले ‘माग्ने राजा’ अगाडि देखिएको छ । ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ दोस्रो स्थानमा छ भने ‘ताराहरू’ त्यति प्रचारमा छैन ।

‘माग्ने राजा’ हास्य जनराको सामाजिक चलचित्र हो । यो चलचित्रलाई मुनाल घिमिरेले निर्माण तथा ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ‘माग्ने राजा’मा हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) पहिलो पटक नायकको रूपमा शीर्ष भूमिकामा प्रस्तुत छन् । केदारसँगै यो चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेव, शारदा गिरी, मिस पविलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रको तीन दिन अघि ट्रेलर रिलिज गरिएको थियो । जुन अहिले चर्चामा छ ।

यस्तै ६ भदौमै रिलिज हुने अर्को नेपाली चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ सामाजिक कथामा आधारित छ । शुक्रवार जनै पूर्णिमाको अवसर पारेर काठमाडौँमा एक समारोहबिच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो चलचित्रमा मिरुना मगर, विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका कलाकारको अभिनय रहेको छ । पेपर क्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक हिमाल न्यौपाने हुने भने निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् ।

यस्तै ६ भदौमा रिलिज हुने तेस्रो चलचित्र ‘ताराहरू’लाई आशान्त शर्माले निर्देशन गरेका हुन् । यो पनि सामाजिक जनरामा निर्माण गरिएको चलचित्र भएको शर्माले बताएका छन् । यो चलचित्रमा आशान्त शर्मासहित मेनुका प्रधान, मिरा खड्का, प्रभाकर न्यौपाने, आभास अधिकारीलगायतको शीर्ष भूमिका छ ।

यस्तै भदौको दोस्रो साता अर्थात् १२ भदौमा अर्को नेपाली चलचित्र ‘कोशेढुंगा’ रिलिज हुने भएको छ । यो चलचित्र सोही दिन नेपालसहित ४१ देशमा रिलिज हुन लागेको यसका कार्यकारी निर्माता दिनेश खड्काले राजधानीलाई बताए । गत वर्ष ब्लक बस्टर भएको चलचित्र पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् । जसमा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाहलगायतको मुख्य भूमिका छ ।

‘कोशेढुंगा’ रिलिज भएको भोलिपल्टै यो चलचित्रसँग प्रतिस्पर्धा गर्न अर्को नेपाली चलचित्र ‘गुन्यु चोलो’ रिलिज हुने भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रशंसा पाइसकेको यो चलचित्रलाई समुन्द्र भट्टले निर्देशन तथा आकाश बुढाथोकीले निर्माण गरेका हुन् । ट्रान्स जेन्डर कथामा आधारित यो चलचित्रको शीर्ष भूमिकामा नाजिर हुसेन छन् । जसमा उनले ट्रान्स जेन्डर महिलाको भूमिका निभाएका छन् । यसरी भदौको दोस्रो साता दुई नेपाली चलचित्रबिच चलचित्र घरमा प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्तै भदौको तेस्रो साता दुई नेपाली चलचित्र ‘रिमै’ र ‘चिठ्ठी’ एकसाथ प्रदर्शन हुनेछन् । यी दुवै चलचित्र २० भदौमा रिलिज हुन लागेका हुन् । चलचित्र ‘रिमै’ गुरुङ संस्कृतिमा आधारित सामाजिक चलचित्र हो । खिलबहादुर गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ ।

यस्तै ‘रिमै’सँगै रिलिज हुने अर्को नेपाली चलचित्र ‘चिठ्ठी’ हरर् जनरामा निर्माण गरिएको छ । कमला कुमारी जोशीद्वारा निर्मित चलचित्र माधवराज खरेलद्वारा निर्देशित यो चलचित्रको यसै साता ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रमा सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, प्रवण भुसाल, श्रीदेव भट्टराई, कञ्चन चालिसे, मुस्कान तामाङ, नवराज थापा, मोहन निरौला, रश्मि भट्टलगायतको मुख्य भूमिका छ ।

भदौको अन्तिम साता भने एउटा मात्र नेपाली चलचित्र रिलिज हुने भएको छ । गत वर्षको सर्वाधिक सफल चलचित्र पूर्ण बहादुरको सारंगीका निर्माता विनोद पौडेलले निर्माण गरेको चलचित्र ‘अभिमन्यु– च्याप्टर १’ २७ भदौमा नेपालमा रिलिज हुन लागेको हो । सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्र क्राईम जनरामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा कामेश्वर चौररिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, प्रकाश दाहाल, सुषमा निरौलालगायतको मुख्य भूमिका रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।