राष्ट्रिय समाचार

हात्तीको आक्रमणबाट ३५२ जनाको मृत्यु, चोरी सिकारीले आठवटा हात्ती मरे

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, साउन २७ गते। नेपालमा मानव वन्यजन्तु द्वन्द्वको दृष्टिले सबैभन्दा बढी हात्तीले हानि नोक्सानी गर्न थालेका बेला विज्ञहरूले हात्तीबाट बच्न र क्षति हुनबाट जोगिन मानवीय आनीबानी, व्यवहार परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्। 

१२ अगस्त, मङ्गलबार विश्व हात्ती दिवस हो। नेपालका विभिन्न राष्ट्रिय निकुञ्जका हात्तीको पूजा गरेर हात्ती संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेर हात्ती दिवस मनाइएको छ। यो दिवसका अवसरमा निकुञ्ज वरिपरिका वन्यजन्तु पीडित समुदायलाई सचेतना जगाउने गरी यो वर्षको हात्ती दिवस मनाइएको हो। 

बिज्ञापन

गत सन् २०२४ अगस्तदेखि अगस्त २०२५ सम्मको अवधिमा विभिन्न कारणले १२ वटा हात्ती मारिएका छन् जसमध्ये बर्दियामा एक जना विद्यार्थीले अध्ययन अनुसन्धानका क्रममा लठ्याउने औषधी प्रयोगको मात्रा नमिलेर मृत्यु भएको हो। अरु बाँकी हात्ती मानिसले करेन्ट लगाएर मारिएका छन्। सो अवधिमा हात्तीबाट १४ जनाको मृत्यु भएको छ। 

हात्तीमा विद्यावारिधि गर्नुभएका डा. अशोककुमार रामका अनुसार वन्यजन्तुले गर्ने व्यवहार अनुसार मानिसले आफ्ना आनीबानी र व्यवहार परिवर्तन गर्न सकेको खण्डमा हात्तीसँगको द्वन्द्व कम गर्न सकिन्छ। हात्तीविज्ञ डा. अशोकले भन्नुभयो, ‘‘हात्ती आफैँले मानिसलाई आक्रमण गर्न जाने होइन, हात्तीको बाटो छेक्यो, जिस्कायो, धपायो, आगो सल्काउनेलगायतका कामहरू गर्दा हात्तीले पनि आफूलाई थ्रेट भएको महसुस गर्छ अनि मानिसलाई आक्रमण गर्ने हो। त्यसैले हात्ती आउने, जाने बाटोमा गोठालो लाग्न नजाने, हात्तीलाई नजिस्काउने, नधपाउनेलगायतका सावधानी अपनायो भने हात्तीबाट हुने हानि नोक्सानीलाई न्यून गर्न सकिन्छ।’’

अर्का हात्तीविज्ञ डा. नरेन्द्रबाबु प्रधानको भनाइ पनि डा. अशोकसँग मिल्दोजुल्दो छ। डा. प्रधानले भन्नुभयो, ‘‘वनजङ्गल छेउछाउ बस्ने समुदायले हात्ती देख्ने बित्तिकै बाटो छेक्ने, रोक्ने, धपाउने, होहल्ला गर्ने जस्ता कामहरू गर्दा हात्ती बढी आक्रामक हुने गरेको देखिएको छ। हात्तीलाई रोकेर, छेकेर हात्ती हिँडडुल गर्ने प्रवृत्तिलाई रोक्न सकिँदैन। त्यसैले मानिसले आफ्ना व्यवहार परिवर्तन नगरुन्जेल वन्यजन्तुसँगको द्वन्द्व कम हुने सम्भावना न्यून हुन्छ।’’

डा. अशोकले सन् २०२२ मा गरेको अध्ययनमा नेपालमा रैथाने हात्तीको सङ्ख्या २२७ छ। बेला बेला नेपालका पूर्वी नाका बाहुनडाँगी भएर भारतको पश्चिम बङ्गालबाट हात्ती छिर्ने गरेका छन्। ती हात्तीले झापा, मोरङ, सुनसरी, उदयपुरसम्म यात्रा तय गर्ने गरेका छन्। आफ्नो पुस्ता हिँडेको बाटो पछ्याउँदै आउने क्रममा ठाउँ ठाउँमा हात्तीसँग स्थानीयको दुर्घटना हुने गरेका छन्। 

सन् २००० देखि २०२५ सम्ममा हात्तीको आक्रमणबाट ३५२ जना व्यक्तिको मृत्यु भएको छ। यो अवधिमा मानिसका कारणले ६० भन्दा बढी हात्तीको मृत्यु भएको छ। तीमध्ये आठ वटा हात्तीको गोली लागेर मृत्यु भएको हो। यसरी मारिएका हात्तीमध्ये चोरी सिकारीले पाँच वटा हात्तीका दाँत झिकेर लगेको र तीन वटाको दाँत झिक्न नपाएको हात्तीविज्ञ डा. अशोकले जानकारी दिनुभयो। 

डा. अशोकका अनुसार हात्तीले आफ्नो पुर्खाले हिँडेको बाटो पछ्याउँदै घुमफिर गर्दै चर्ने र फेरि फर्किने क्रमसँग द्वन्द्वका घटना हुने गरेका छन्। हात्तीले लामो यात्रा गर्ने गरेकोले यात्राका क्रममा बाटोमा हात्ती भेटिँदा प्रायजसो दुर्घटना हुने गरेका छन्। 

नेपालमा रैथाने हात्ती बर्दिया, शुक्लाफाँटा, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने गरेका छन्। बेला बेला पूर्वी नाका बाहुनडाँगी जस्तै कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी भारतबाट बर्दिया क्षेत्रमा, पिलिभित वाइल्डलाइफ सेन्चुरी, नन्दोर वाइल्डलाइफ सेन्चुरी र दुधुवा राष्ट्रिय निकुञ्ज भारतबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी मोहनी काेरिडोर हुँदै कञ्चनपुर जिल्लाका अरु वनजङ्गलमा भारतबाट पनि समूहमा हात्ती बेला बेला प्रवेश गर्ने गरेको कुरा डा. अशोकले बताउनुभयो। 

नेपाल भारत सीमा वारपार गरेर मौसमी रूपमा सोहेल्वा वाइल्डलाइफ सेन्चुरी भारतबाट कम्दी काेरिडोर हुँदै बाँके राष्ट्रिय निकुञ्ज र कपिलवस्तुको वनजङ्गलमा पनि हात्ती आउने जाने गरेका छन्। त्यसैगरी पर्सा, चितवन राष्ट्रिय निकुञ्जमा सीमा जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भबाट बेला बेला हात्तीका समूह नेपाली भूमिमा प्रवेश गरी घर भत्काउने, खेतीबाली नोक्सानी  गर्दै आएका छन्। 

खास गरेर रैथाने हात्तीभन्दा मौसमी रूपमा नेपाल छिर्ने हात्तीका समूह र समूहबाट छुट्टिएका युवा मत्ता हात्तीले बढी क्षति गर्ने गरेको कुरा डा. अशोकले बताउनुभयो। 

लामो समयदेखि मानव हात्ती द्वन्द्व न्युनीकरणमा काम गर्नुभएका संरक्षणविद् रमेश थापाकाे भनाइमा मानिस सचेत नहुन्जेलसम्म वन्यजन्तुसँगको द्वन्द्व घटाउन सकिँदैन। उहाँले भन्नुभयो, ‘‘हात्ती आयो भन्दै गाउँघरमा सिटी फुकेर कोहाहल मच्चाउने, आगो बालेर धपाउन खोज्यो भने हात्तीले पनि आफ्नो ज्यानको सुरक्षाका लागि पनि धपाउन जाने मानिसलाई प्रतिआक्रमण गर्न खोज्छ, अनि दुर्घटना भइहाल्छ।   

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका थापाले भन्नुभयो, ‘‘हात्तीले बाटो मात्रै प्रयोग गरेको अवस्थामा हात्तीलाई नजिस्काउँदा उसले केही क्षति गर्दैन। हात्ती आउँछ, आफ्नो बाटो लाग्छ। यदी खेतीबाली खानका लागि आएको हो भने हात्तीबाट मानिसको ज्यान जोगाउन किसानको बाली बिमा गर्नुपर्छ। हात्तीले खेतबाली नोक्सानी गरिहाल्यो भने पनि किसानले ज्यानको माया मारेर हात्ती धपाउन जान परेन, बिमाले बेहोर्छ। अर्काे कुरा घर खेतबारी वरिपरि सस्तो खालको मौसमी सौर्य तारबार प्रयोग गर्नुपर्छ। जसले गर्दा सौर्य तारबार पार गरेर खेतबारी र घरसम्म हात्ती पुग्न सक्दैन।’’

थापाका अनुसार हाल बर्दिया जिल्लाको हात्ती लाग्ने मधुवन नगरपालिकाको पत्थरबोझी, रजवारा र अमरपुर गाउँमा खेतीबारी र घर वरिपरि सौर्य तारबार लगाइएको छ। जसले गर्दा पछिल्ला दिनमा यो क्षेत्रमा हात्तीले खेतीबाली नोक्सानी गर्न पाएको छैन भने मानिसहरु पनि हात्तीसँग दुर्घटनामा परेका छैनन्। बर्दियाका वन्यजन्तु पीडित किसानको बाली बिमा गर्ने कामको सुरुवात पनि भएको उहाँले दिनुभयो। 

संरक्षणविद् थापाले भन्नुभयो, हिजोका दिनमा हामीले सौर्य तारबार, कङ्क्रिट बार लगाएर वनजङ्गल घेर्‍याैँ तर समस्या समाधान भएन, हात्ती जङ्गलबाट जसरी पनि बाहिर निस्किएरै छाड्यो। अब हामीले गाउँघर र खेतबारी घेर्ने विधि अपनाउन थाल्दा हात्ती लगायतका वन्यजन्तुसँगको द्वन्द्व घट्न थालेको छ। यही मोडलमा काम गर्नुपर्छ। 

हाल उज्यालो नेपाल नामक संस्थाले बर्दियाका पत्थरभोजी, रजबारा र अमरपुर तीन गाउँका स्थानीयलाई मौसमी सौर्य तारबार लगाउने, झिक्ने, मर्मतसम्भार गर्न सक्ने गरी तालिम पनि दिएको छ। अहिले यहाँका बासिन्दाले स्थानीय सस्तो कच्चा पदार्थ बाँस, काठ, दाउराको पोल गाडेर सस्तो लागतमा सौर्य तारबार लगाएका छन्। खेतीबाली हुँदा तारबार लगाउने र खेतबारी बाँझो हुँदा झिकेर राख्ने गरेका छन्। 

घरभित्रको राखेको अन्न खान हात्तीले घर भत्काउने गरेका धेरै घटना भएपछि उज्यालो नेपालको सहयोगमा बर्दियामा पक्की सामुदायिक अन्न भण्डार निर्माण गरिएका छन्। घरभित्र राख्ने गरेको अन्न सामुदायिक अन्न भण्डारमा राख्ने गरेपछि बर्दिया किसानको हात्तीले घर भत्काउने दर पनि घटेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।