मोटरसाइकल दुर्घटनामा परी हराएका दुईजना युवक मृत भेटिए

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुईजनाको शव फेला परेको छ । फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको छ ।
भदौ १५ गते रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६, ठाडे बस्ने २४ वर्षीय सुदिीप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए– ३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा हालसम्म सम्पर्कमा नआएपछि निजका आफन्तले खोजीकार्यको लागि भदौ १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका थिए ।

निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो ।
सिसिटिभी फुटेजकै आधारमा उनीहरूको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमान्डमा विपत् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली भदौ १७ गते बिहान परिचालन भएको छ ।
घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएजस्तो देखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
