सत्ताको मनोमानीविरुद्ध जेनजीको प्रतिवाद

२२ भदौ, काठमाडौं । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।
उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।

टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।
यो आफैँमा कति लामो जान्छ वा सामाजिक सञ्जालमा हल्ला भएजस्तो प्रभाव पार्छ/पार्दैन समयले देखाउला । तर, सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।
अधिकांशले भनिरहेका छन्– यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।
यी सबै परिदृश्य हेरिरहँदा नेपाल फेरि युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ । न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएको छ । यही आवाज लिएर सडकमा उत्रने भएको छ ।
पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।
कतिपय भने नेतृत्वविनाको आन्दोलन नेपालमा सम्भव नभएको बताउँछन् । ‘नेतृत्वविना आन्दोलन हुँदा धेरै समस्या आउनसक्छ, त्यसैले यो आन्दोलनलाई सफल बनाउन नेतृत्व चाहिन्छ,’ टिकटक प्रयोगकर्ता मिरज ढुंगानाले भनेका छन्, ‘त्यसैले यो प्रोटेस्ट हाइज्याक हुने जोखिम देखिन्छ, जसबारे हामी सचेत हुनुपर्छ । यदि यिनै पार्टीले हामी यो मुमेन्ट लिड गर्छौँ भनेर आए भने त्यो दिनुहुँदैन ।’
यो आन्दोनमा स्टार्टअप उद्यमीहरुले पनि उत्तिकै साथ दिइरहेका छन् । राइड सेयरिङ प्ल्याटफर्म पठाओका संस्थापक सीईओ असिममान सिंहले पनि टिकटकमा आह्वान गरेका छन्, ‘८४ सम्मको लागि कुर्ने हैन परिवर्तनको लागि । डिजिटल उपस्थिति जति महत्वपूर्ण छ, भौतिक उपस्थिति आवश्यक छ । त्यसैले म आफैँ सोमबार आन्दोलनमा आउँछु । तपाईंहरुलाई पनि आउन आह्वान गर्छु ।’
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’मा पनि यो अभियानले व्यापकता पाएको छ । त्यसमा एउटा पोस्ट राखिएको छ, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको छ । यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्छ । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्छ ।
उक्त पोस्टमा लेखिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिएपनि नेताहरु हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ ।’
यसरी स्वतस्फुर्त रुपमा सामाजिक सञ्जालबाट उठेको यो अभियानबारे लेखक सरिता तिवारी सामाजिक सञ्जालमा लेख्छिन्, ‘भोलि काठमाडौं लगायत देशैभर युवाहरूले गर्ने भ्रष्टाचार विरुद्धको प्रदर्शन राजनीतिलाई कमाउ धन्दा बनाउने नेतृत्व, कर्मचारीतन्त्र र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको सञ्जाललाई चुनौती दिनेगरी बलियो बनोस् । अगाडि यो अभियानका अरु कार्यक्रम पनि तय होउन् ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
