राजनीति

जेनजीलाई ओलीको पत्रः ‘म अलि जिद्दी छु, देश जोगाउने मेरो उद्देश्य हो’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीबाट जेनजीलाई पत्र लेखेका छन् । ओलीले पत्र लेख्दै व्यवस्थाको रक्षा र शान्तिको पक्षमा आफूले सधैँ उभिएको बताएका छन् ।

ओलीले आफ्ना विचारलाई संवेदनशील ढंगले प्रस्तुत गर्दै शान्ति र व्यवस्था परिवर्तनका मुद्दामा आफ्नो अनुभव र दृष्टिकोण स्पष्ट पारेका छन् ।

बिज्ञापन

ओलीले व्यवस्था परिवर्तनको लडाइँमा, सत्ताले दिएको निर्मम यातनाका कारण आफ्ना सन्तान नभएको बताएका छन् । उनले २०५१ सालमा गृहमन्त्री हुँदा राज्यको तर्फबाट कुनै हिंसा नघटीकन शान्तिको पक्षमा उभिएको कुरा पनि लेखेका छन् । ‘मैले सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु,’ ओलीले भनेका छन् ।

पत्रमा ओलीले जेन–जी युवाहरूको आन्दोलनको बारेमा आफ्नो दृष्टिकोण पनि व्यक्त गरेका छन् । उनले आन्दोलनका बारेमा लेख्दै भने, ‘यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन ।’ ओलीका अनुसार, आन्दोलनका क्रममा भएका केही गतिविधिहरूमा गहिरो षड्यन्त्र लुकेको छ । उनले युवाहरूलाई सावधान गर्दै भनेका छन्, ‘आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो ।’

पत्रमा ओलीले आफ्नो जिद्दीपनको बारेमा पनि चर्चा गरेका छन् । उनले भने, ‘स्वभावले म अलि जिद्दी छु । यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ ।’ ओलीका अनुसार, उनले नेपालको सम्प्रभुता र सीमाना को प्रश्नमा, विशेषगरी लिपुलेक, कालापानी र लिम्पियाधुरामा आफूले जिद्दी गरेर अधिकार रक्षा गरेका छन् ।

पत्रको अन्त्यमा ओलीले व्यवस्थाको रक्षा र सुरक्षा आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् । उनले भने, ‘पदमा रहने या नरहने कुरा कहिल्यै ठूलो भएन । मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो । ओलीले भने, ‘व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु ।’

यस्तो छ उनको पत्र

प्रिय जेन्जी बाबुनानीहरू,

आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ।

सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, ’बा’ बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन। जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ। तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ। तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु।

त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन। तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्। यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैनथियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैनथियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, संघर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ। आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।

नानिबाबुहरू,
स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला। हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ (UN) मा नपठाएको भए या अरूले मलाई चलाउन चाहेअनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो। तर, मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु। मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन।

पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन। मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।

तिमीहरूको
केपी शर्मा ओली, शिवपुरी

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।