घटना

अपहरणमा परेका बालकको हत्या, घरनजिकै फालिएको अवस्थामा शव फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिराहाको गोलबजार नगरपालिका– १३ दुर्गापुर डंग्राहा गाउँबाट अपहरणमा परेको भनिएका १४ वर्षीय बालकको हत्या गरी फालिएको अवस्थामा घरनजिकै शव फेला परेको छ । स्थानीय सञ्जयकुमार सिंह र रेखा सिन्हाका एक्लो सन्तानको रूपमा रहेका १४ वर्षीय अभिषेककुमार सिंहको शव घरनजिकै रहेको अर्जुन आधारभूत विद्यालय जाने बाटोमा मंगलबार बिहान भेटिएको हो ।

शव भेटिएलगत्तै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दप्रसाद साह र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुरसहित आएको टोलीले अहिले घटनास्थल सिल गरी अनुसन्धानसहित घटनास्थलकाे मुचुल्का उठाउने काम भइरहेकोे सिराहा प्रहरीले जनाएको छ । 

बिज्ञापन

सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार घटनास्थलमा रहेको प्रहरी टोलीले स्थानीय बासिन्दा, छिमेकीलगायतसँग सोधपुछसहित अनुसन्धान थालेको छ । गोलबजार–  १३ का वडाध्यक्ष नन्दकुमार महतोका अनुसार आइतबार साँझदेखि हराइरहेका भए पनि बालक गाउँले साथीहरूसँग झिझिया हेर्न गएको होला भन्ने अनुमान गरी राति खोजतलास गरिएको थिएन । 

‘बालक सोमबार बिहानसम्म घर नफर्किएपछि आफन्तहरू मेरोमा पनि आउनुभयो,’ उनले भने, ‘त्यतिवेला नै उनकी आमाले बोक्ने मोबाइलको इमोमा अभिषेकको इमो आइडीबाट पाँच करोड फिरौती माग गरेको म्यासेज आइरहेको थियो ।’ हिन्दी भाषामा लेखिएको म्यासेजमा फिरौतीबापतको पाँच करोड रकम सेप्टेम्बर २५ (९ असोज) भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खबर गरे जे पनि हुन सक्छ भन्दै धम्क्याइएको उनले बताए । 

घटनाको जानकारी पाएललगत्तै आफूहरूले प्रहरीमा खबर गर्नुका साथै आफ्नो आफन्तमार्फत खोजी गरिरहेका वेला हत्या गरेको अवस्थामा शव भेटिएको हो । हत्या गरेको अवस्थामा भेटिएका अभिषेक आइतबार राति करिब साढे ८ बजेतिर घरमा खाना खाएर बाहिर निस्किएपछि बेपत्ता भएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि हजुरबुबा लक्ष्मण महतोसहित आमाले छरछिमेक र गाउँमा खोजी गरे पनि फेला परेका थिएनन् । बालककाबाबु सञ्जयको पनि  करिब १० वर्षअघि विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको गाउँलेहरू बताउँछन् । गाउँलेहरूका अनुसार ६ कक्षासम्म पढेका बालकले बाबुको निधन भएपछि हजुरबुबाको संरक्षणमा खेतीपाती र चालक राखेर ट्रयाक्टर चलाउने काममा सघाउँदै आएका थिए ।   

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।