नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबन्डा

नवगठित नेपाली कम्युनिस्ट पार्टीले ६०१ सदस्यीय कार्यकारी समिति बनाउने गरी निर्वाचन आयोगमा विधान बुझाएको छ । आयोगमा बुझाइएको विधानलाई अन्तरिम भनिएको छ । आइतबार डेढ सयहाराहारी नाम मात्रै निर्वाचन आयोगमा बुझाइएको छ ।
माओवादी र एकीकृत समाजवादीका स्थायी समितिसम्मका र अन्य दलका केही शीर्ष नेताहरूको नाम समेटेर कागजात निर्वाचन आयोगमा बुझाइएको हो । त्यसमा ३३ प्रतिशत महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकमा कोटा पुग्ने गरी सदस्य थपेर आयोगमा नामावली बुझाएको नेताहरूले बताएका छन् । सदस्यहरूको टुंगो मंगलबारसम्म लाग्ने नेताहरू बताउँछन् ।

कार्यकारी समितिमा माओवादीलाई ५५ र एकीकृत समाजवादीलाई ४५ प्रतिशत भागबन्डा गरिने प्रारम्भिक समझदारी भएको छ । ‘हामीले दल दर्ता प्रयोजनका लागि थोरै नाम मात्र आयोगमा बुझाएका छौँ । पर्सिसम्म नाम टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । प्रमाणपत्र दिने वेलासम्म नाम थप्न पाइन्छ,’ नेकपा नेतृ दिलु पन्तले भनिन्, ‘माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को अनुपातमा कमिटीमा रहने समझदारी छ ।’ त्यसैभित्रबाट अन्य दललाई मिलाइने नेताहरूले बताएका छन् ।
मुख्यतः साबिक माओवादीबाट वर्षमान पुन, देव गुरुङ, मुक्ति प्रधान, साबिक एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रामकुमार भट्टराई, श्रीनाथ बराल, दिलु पन्तलगायत नेतालाई दर्ताको जिम्मेवारी दिइएको छ । साबिकका अन्य पार्टीबाट शीर्र्ष नेताहरू नै खटिएका छन् । एक हप्ताभित्र कमिटीले पूर्णता पाउने नेताहरूको दाबी छ ।
गत बुधबार १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल छन् । अन्य पार्टी, समूह र व्यक्तिसँग पनि छलफल जारी रहेकाले कमिटीलाई पूर्णता दिन समय लाग्ने नेताहरू दाबी गर्छन् । नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूलाई हस्ताक्षर गराउने क्रम जारी छ । एकता अभियानमा सहभागी नभएका जनार्दन शर्मा र घनश्याम भुसालनिकट नेताहरूलाई फकाउने क्रम पनि जारी छ ।
नेकपा नेता वर्षमान पुनले ६०१ सदस्यीय कार्यकारी समिति रहने बताए । ‘६०१ सदस्यीय कार्यकारी समिति रहन्छ । हामीले आयोगको फम्र्याटमा केही नामसहित कागजात बुझाएका छौँ । केही दिनमै बाँकी नाम बुझाउँछौँ,’ उनले भने ।नेपाली कम्युनिस्ट पार्टीआबद्ध दलका प्रतिनिधिले विधान, माइन्युट, नयाँ पार्टीको घोषणापत्र, विधानलगायत कागजात बुझाएको नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले गत बुधबार नै आयोगमा निवदेन दिइसकेका थियौँ । आइतबार साबिक दलका दस्ताबेजसहित नेपाली कम्युनिस्ट पार्टीका कागजात बुझायौँ,’ उनले भने । पाण्डेका अनुसार प्रारम्भिक नामावली बुझाइएको छ । नेताहरूका अनुसार थप नामावली केही दिनमा बुझाउने तयारी छ ।
आयोगपरिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पुनले नेपाली कम्युनिस्ट पार्टी आगामी निर्वाचनपछि देशकै ठुलो पार्टी बन्ने दाबी गरे । आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरिएको उनले बताए । ‘हामी यसपटक जेन–जीका माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौँ । नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट लिने गरी तयारी गर्दै छौँ । हामी लार्जेस्ट पार्टी हुन्छौँ,’ पुनले भने ।
जनार्दन शर्मा र घनश्याम भुसाल पनि कम्युनिस्ट आन्दोलनको मूलधारमा फर्किने उनले दाबी गरे । ‘रेल छुटेको हो, तर विभिन्न स्टेसनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो । अर्को स्टेसनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।
नेकपामा फर्किइन् अञ्जना विशंखे
एकताको विरोधमा लागेकी साबिक माओवादी नेतृ अञ्जना विशंखे नेपाली कम्युनिस्ट पार्टीमा फर्किएकी छिन् । १० वाम मिलेर एकता घोषणा हुँदा नेता जनार्दन शर्मासँगै उनले पनि विरोध गरेकी थिइन् । शर्माले छुट्टै अभियान घोषणा गर्दा अञ्जना पनि सँगै थिइन् । तर, आइतबार विशंखेले नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भएर दल दर्ताका लागि निर्वाचन आयोगमा पेस गर्ने कागजातमा हस्ताक्षर गरेकी छिन् ।
भीम रावल सकारात्मक, हप्ता दिनभित्रै एकता सभाको तयारी
एमालेमा विद्रोह गरेर मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुने भएका छन् । प्रचण्डनिवासमा आइतबार भएको छलफलमा रावलले सकारात्मक जवाफ दिएका हुन् । प्रचण्ड र नेपालले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्ति मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै मिलेर अगाडि बढ्न रावललाई आग्रह गरेका थिए । ‘कम्युनिस्ट आन्दोलन संकटमा छ । त्यति मात्रै होइन राष्ट्र नै संकटमा छ । यस्तो वेला तपाईं–हामी मिलेर राष्ट्रलाई निकास दिनुपर्छ । राष्ट्रले एकताको माग गरेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । ती नेताका अनुसार विगतमा सँगै काम गरेकाले फेरि एकताबद्ध भएर काम गर्न नेपालले रावललाई आग्रह गरेका थिए ।
रावलले एकताका लागि राष्ट्रिय स्वाधीनता मुख्य विषय हुने बताएका छन् । राष्ट्र, राष्ट्रियता, जनजीविका, विदेशी हस्तक्षेपको विषयमा उनले ध्यानाकर्षण गराएका छन् । ‘मुख्य विषय राष्ट्रिय स्वाधीनताको हो । राष्ट्र, राष्ट्रियता, जनजीविकाको विषयमा कसरी जान्छौँ, त्यो महत्वपूर्ण कुरा हो,’ रावलले भने । प्रचण्ड र नेपालले रावलको मर्यादाका साथै उठाउँदै आएको विषय समेट्ने बताएपछि उनले अभियानमा सदस्यहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् । छलफलमा संयोजक प्रचण्ड, सहसंयोजक नेपालसहित भानुभक्त जोशी, प्रकाश ज्वाला, शेरबहादुर कुँवरलगायत सुदूरपश्चिमका नेताहरू सहभागी थिए ।
अशोक राई नेतृत्वको जसपासँग पनि एकताबारे छलफल भइरहेको छ । जसपाले एकता प्रस्तावबारे छलफल गरेर वार्ताका लागि कार्यदल नै बनाएको छ । संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्षद्वय रनध्वज कन्दङ्वा र परशुराम बस्नेत तथा महासचिव मोहमद इस्तियाक राई सदस्य छन् । दुईजना सदस्य थप्न बाँकी रहेको श्रेष्ठले बताए ।
श्रेष्ठले नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकता र ध्रुवीकरण हुने बताए । ‘जेन–जी आन्दोलनपछि नेपाली समाज नै ध्रुवीकरण, पुनर्संरचना, पुनर्गठनको स्थितिमा छ । प्रत्येक दलमा एकीकरण र ध्रुवीकरणको क्रम सुरु भएको छ । यस्तो परिप्रेक्ष्यमा कुनै पनि पार्टीले म एक्लै जान्छु भन्दा पनि नीति, कार्यक्रम, सिद्धान्त मिल्नेसँग एकता गरेर जानुपर्छ,’ उनले भने । एकता सम्भव नभए मोर्चा र तालमेल पनि गर्न सकिने उनले बताए । विगतमा समाजवादी मोर्चामा सँगै काम गरेको हुनाले नेपाली कम्युनिस्ट पार्टीसँग विचार, सिद्धान्तमा धेरै भिन्नता नरहेको उनले बताए ।
घनश्याम भुसाल पुनर्गठन समूहको संयोजक
एकीकृत समाजवादी पुनर्गठनमा लागेका नेताहरूले तत्कालीन महासचिव घनश्याम भुसाललाई संयोजक चयन गरेका छन् । जुम मिटिङबाट भुसाललाई संयोजक चयन गरिएको पुनर्गठन अभियानमा प्रचार विभाग प्रमुख दामोदर अर्यालले बताए । ‘एकीकृत समाजवादी पुनर्गठन अभियानको केन्द्रीय कमिटीको बैठक बस्यो ।
बैठकले अभियानको केन्द्रीय संयोजकमा घनश्याम भुसाललाई चयन गर्यो,’ उनले भने । उनका अनुसार बैठकले आगामी मंसिरमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । जुम मिटिङमा सहभागी एक नेताका अनुसार भुसालसहित घनेन्द्र बस्नेत, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, उर्वादत्त पन्त, हरि पराजुली, दामोदर अर्याल, धर्मराज निरौला, रमा निरौला, महेश रेग्मी, नन्द बञ्जाडे, लक्ष्मण लम्साल, नरेश शाही, शेरबहादुर केसी, सुष्मा राई, धनबहादुर कार्की, अमृत सागरलगायत नेता सहभागी थिए ।
दिलु पन्त, नेकपा नेतृ
हामीले दल दर्ता प्रयोजनका लागि थोरै नाम मात्र आयोगमा बुझाएका छौँ । पर्सिसम्म नाम टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । प्रमाणपत्र दिने वेलासम्म नाम थप्न पाइन्छ । माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को अनुपातमा कमिटीमा रहने समझदारी छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
