कृषि

उखु किसानले प्रतिक्विन्टल ६९० रुपैयाँ पाउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सरकारले गत वर्ष उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिँदै आएकोमा यस वर्ष थप ३५ रुपैयाँका दरले अनुदान रकम बढाएको छ ।  

मंसिर २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस वर्ष ३५ रुपैयाँ बढाउने निर्णय गरेको हो । अघिल्लो वर्षको समेत गरेर अनुदान रकम ७० रुपैयाँ पुगेको छ ।  

बिज्ञापन

सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य समेत निर्धारण गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता डा.जानुका पण्डितका अनुसार सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल छ सय २० रुपैयाँ निर्धारण गरेको छ । सरकारको निर्णय अनुसार अब किसानले प्रतिक्विन्टल उखुको मूल्य छ सय ९० रुपैयाँ पाउने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिस गरे अनुसार सरकारले अनुदान रकम बढाएको हो । सरकारले प्रत्येक वर्ष उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । उखुको समर्थन मूल्य निर्धारण गरेसँगै सरकार प्रत्येक वर्ष अनुदान रकम वृद्धि गर्दै आइरहेको छ ।  

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले उखुको समर्थन मूल्य पाँच सय ८५ रुपैयाँ निर्धारण गरेको थियो ।  

सरकारले आर्थिक वर्ष २०८०/८१ मा छ सय ३५ रुपैयाँ, २०७९/८० मा छ सय १० रुपैयाँ, २०७८/७९ मा पाँच सय ९० रुपैयाँ र २०७७/७८ मा पाँच सय ४४ रुपैयाँ समर्थन मूल्य तोकेको थियो ।  

सरकारले गत वर्षको तुलनामा यस वर्ष उखुको समर्थन मूल्य बढाएको भए पनि उखु उत्पादन महासंघ नेपालले भन्ने समर्थन मूल्यप्रति आपति जनाएको छ ।  

उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायका अनुसार सरकारसँगै हामीहरुको पुरानो माग यथावत् नै थियो । सरकारले तोकेको उखुको नयाँ समर्थन मूल्य र अनुदानमा आफूहरूको चित्त नबुझेको उनले बताए ।  

अध्यक्ष रायले भने, ‘हामीले पटक–पटक सरकारलाई ३५ रुपैयाँ भुक्तानी गर्न माग गरे पनि अहिलेसम्म भुक्तानी नभएकाले सरकारको निर्णयप्रति हाम्रो असहमति छ ।’ महासंघको बैठक एक/दुई दिनमा बसेर सरकारको समर्थन मूल्यबारे समीक्षा गर्ने र आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए ।  

मन्त्रालयले अध्ययन गरी उखुको लागत मूल्य प्रतिक्विन्टल चार सय ३७ रुपैयाँ, ढुवानी ८१ रुपैयाँ र नाफा एक सय दुई रुपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य छ सय २० रुपैयाँ निर्धारण गर्न मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।