मादक पदार्थ सेवन गरेका व्यक्तिले बिना लाईसेन्स चलाएको मोटरसाईकल चढ्दा…

कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगी पदमबहादुर खड्का शुक्रबार बिहान सबेरै दिक्तेल बजारस्थित कार्यालय पुगेका थिए । कार्यालयमा पुग्नासाथ आफ्नो काम सकेर करिब साढे ११ बजे कार्यालय बाहिर निस्किएका कार्यालय सहयोगी खड्का अब कहिल्यै कार्यालय नफर्कने भएका छन् ।
व्यक्तिगत काम लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा जानुभएका ५५ वर्षीय कार्यालय सहयोगी खड्काले मोटरसाईकल दुर्घटनामा ज्यान गुमाए । सोही नगरपालिकाको वडा नं. ७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाईकल शुक्रबार सोल्मामा दुर्घटना हुँदा मोटरसाइकलको पछाडि चढेर घर फर्कनेक्रममा गम्भीर घाइते भएका खड्काको मृत्यु भएको हो ।

दोर्पाबाट दिक्तेल आउँदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाईकल रोकेर पछाडि चढ्नुभएका खड्का मध्यपहाडी लोकमार्ग अन्तरगत सोल्मामा सडकभन्दा करिब १५० मिटर तल खखेर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । दुर्घटनास्थलबाट बेहोस अवस्थामा उद्दार गरेर जिल्ला अस्पताल खोटाङ पु¥याइएका खड्कालाई चिकित्सकले केही समयपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त मोटरसाईकल चालक आचार्यले मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको र बेलुकी करिब ६ः०० बजे आफै प्रहरीसमक्ष आएर दुर्घटनाबारे जानकारी गराएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रशान्त मिश्रले बताएका छन् । दुर्घटनाको जानकारी आउनासाथ खोजी गर्दा मोटरसाईकल रुखमा अल्झिरहेको र त्यसभन्दा तल खड्का बेहोस अवस्थामा फेला परेको जनाइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चालक आचार्य मादक पदार्थ सेवन गरेको अवस्था भएकाले कतिखेर दुर्घटना भयो भन्ने एकीन नभएको मिश्रले जानकारी दिए । “बेलुकी ६ः०० बजे आफै आएर जानकारी गराएपछि खोज्ने क्रममा सोल्मा भन्ने ठाउँमा खड्कालाई बेहोस अवस्थामा फेला पा¥यौँ । मोटरसाईकल सडकभन्दा करिब १५० मिटर तल रुखमा अल्झिएको अवस्थामा फेला परेको थियो”, उनले भने, “मृतक खड्का कुन ठाउँबाट मोटरसाईकल चढ्नुभयो अहिलेसम्म पनि चालकले बताएको छैन । कतिबेला दुर्घटना भयो त्यो पनि उसलाई जानकारी छैन ।”
आफूले चलाएको मोटरसाईकलमा सवार खड्काको दुर्घटनामा मृत्यु भएपछि चालक आचार्यलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाइएको मिश्रले जानकारी दिएका छन् । दुर्घटना भएको केही समयपछि आफै जिल्ला प्रहरी कार्यालयमा आएका चालक आचार्यविरुद्ध आफन्तले दिएको किटानी जाहेरी दर्ता गरेर अनुसान्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका चालक आचार्यसँग चालक अनुमतिपत्र (लाईसेन्स) तथा मोटरसाईकलको बिलबुकसमेत नरहेको प्रहरीले जनाएको छ । समाचार स्रोतका अनुसार चालक आचार्यले केही समय अगाडि स्थानीय शिक्षक प्रेम थापाको मोटरसाईकल खरिद गरेर आफ्नो नाममा पास नगरी प्रयोग गर्दै आएको जनाइएको छ ।
लागू पदार्थसमेत सेवन गर्दै आएका चालक आचार्य तीन महिनाअघिमात्रै सुधारगृहबाट फर्किएको स्थानीयले बताएका छन् । स्थानीयले दिएको जानकारीअनुसार केही वर्षअघिदेखि लागूपदार्थ सेवन गर्दै आएका चालक आचार्यले आफ्नो विवाहका लागि बुबा÷आमाले जम्मा गरेको रकम आफूखुशी झिकेर मोटरसाईकल किनेका हुन् ।
मृतक खड्काको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेर दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । स्थानीयले दिएको जानकारीअनुसार ३२ वर्षदेखि स्थायीरुपमा कार्यालय सहयोगीको काम गर्दै आएका मृतक खड्काको श्रीमतीसहित दुई छोरा छन् । तस्वीर उपलब्ध छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
