राष्ट्रिय समाचार

प्रहरीले अब नाकामा किटमार्फत लागुऔषध जाँच गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रहरीले लागुऔषध नियन्त्रण गर्न सीमानाकाहरूमा किटमार्फत शंकास्पद व्यक्तिमा लागुऔषध प्रयोगको अवस्थाबारे परीक्षण गर्ने भएको छ । प्रयोगकर्ताले सीमावर्ती भारतीय बजार पुगी लागुऔषध प्रयोग गर्ने र बोकेरसमेत आउने गरेको पाइएपछि नाकामा ओहोरदोहोर गर्ने शंकास्पद व्यक्तिको नमुना लिएर किटमार्फत परीक्षण गर्न लागिएको हो । 

सुदूरपश्चिममा लागुऔषध प्रयोगको अवस्था भयावह रूपमा फैलिरहेको छ । प्रहरीको तथ्यांकअनुसार गत मंसिरमा मात्र प्रदेशभरि लागुऔषध मुद्दामा ८८ जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषधसम्बन्धी ५६ वटा मुद्दा दर्ता गरेको छ । प्रहरीले एक महिनामै सुदूरपश्चिमबाट साढे २७ किलो चरेस, सवा एक किलो गाँजा र ११८ ग्राम खैरो हेरोइन बरामद गरेको छ । 

बिज्ञापन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले लागुऔषध नियन्त्रण गर्न किटमार्फत नाकाहरूमा स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको बताए । ‘किटको व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘छिट्टै परीक्षण सुरु गर्ने तयारी छ ।’ उनले यहाँ हुने आपराधिक घटनामा कुनै न कुनै रूपमा लागुऔषध जोडिएको पाइने गरेको बताए । 

प्रहरीले चलाउने कारबाहीले मात्र लागुऔषध नियन्त्रण गर्न सम्भव नदेखिएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक रानाले नागरिकलाई समेत लागुऔषध नियन्त्रणमा जोड्ने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ‘लागुऔषध नियन्त्रण गर्न प्रहरीको ‘काउन्टर’ले मात्र पुगेन । अब प्रहरी र नागरिक मिलेर लागुऔषध नियन्त्रणमा लाग्ने गरी कार्ययोजना बनाएर लागू गर्दै छौँ,’ रानाले भने, ‘लागुऔषध तस्करलाई कारबाही र प्रयोगकर्तालाई व्यवस्थापन गरेर जाने योजना छ ।’ 

प्रहरी तथ्यांकअनुसार सुदूरपश्चिमका कारागारमा रहेका कैदीबन्दीमध्ये २९ प्रतिशत लागुऔषध मुद्दाका छन् । कात्तिकमा मात्र लागुऔषधसम्बन्धी ५२ वटा मुद्दामा ८७ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । कात्तिकमा प्रदेशभरिबाट २५६ ग्राम खैरो हेरोइन, पौने तीन किलो चरेस र ६५५ ग्राम गाँजा बरामद गरिएको उनले बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार पक्राउ पर्नेमध्ये अधिकांश युवा छन् ।

खैरो हेरोइनलगायत लागुऔषध सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याउने गरिएको पाइन्छ । भारतसँगको लामो सिमाना जोडिएका कैलाली, कञ्चनपुरमा लागुऔषध प्रयोगको अवस्था भयावह छ । खुला सिमानाका कारण भारतबाट हुने आयातलाई रोक्न चुनौतीपूर्ण रहेको प्रहरी उपरीक्षक गौतमले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रानाले जेन–जी आन्दोलनका क्रममा फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले विशेष रूपमा काम गरिरहेको बताए । कतिपय कैदीबन्दी भारत गएको बुझिएको उल्लेख गर्दै उनले फरार कैदीबन्दी नियन्त्रण गर्न भारतीय सुरक्षा अधिकारीसँग पनि समन्वय भइरहेको जानकारी दिए । आन्दोलनका वेला सुदूरपश्चिका विभिन्न कारागारबाट फरार भएका ३६५ जना कैदीबन्दी फर्केका छैनन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।