चलचित्र ‘कुमार’को नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक

काठमाडौँ । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ
काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो ।

यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक गरिएको ‘डोको बुन्ने’ गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन् । सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन् । शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेम कथानक चलचित्रहरू ‘आई एम सरी’, ‘नोभेम्बर रेन’,‘क्लासिक’ सम्झना गर्दै ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका चलचित्रपछि आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए । उनले ‘डोको बुन्ने’ गीतले चलचित्रको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे । यस्तै, लेखक विकास सुवेदीले यो गीतले चलचित्रको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे ।
कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले यस चलचित्रबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए । राजभण्डारीले चलचित्रको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो चलचित्र रोजेको बताइन् । यस्तै, खड्काले चलचित्रप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप यस चलचित्रमा अभिनय गरेको बताए। कार्यकारी निर्माता केदार भुसालले ‘भ्यालेन्टाइन डे’ को छेको पारेर रिलिज हुन लागेको यस चलचित्रले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
