घटना

३३ किलो सुन र सनम हत्या काण्डका फरार प्रतिवादी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।

चूडामणि उप्रेती (गोरे) मुख्य योजनाकार मानिएको यो प्रकरणमा अदालतबाट दोषी ठहर भएका हेटौँडा उपमहानगरपालिका वडा नं। १७ बस्ने ३३ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेका हुन् ।

बिज्ञापन

उनलाई काठमाडौँमा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गौतम ८ वर्षदेखि फरार थिए । उनको मुद्दा मुल्तबीमा थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरी मोरङ ल्याएको छ ।

गौतमलाई आजै अदालत बुझाइएको मोरङका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए छन् ।

के थियो सनम शाक्य हत्या प्रकरण ?

२०७४ फागुन तेस्रो साता दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३३ केजी अवैध सुन आइपुगेको थियो । भारतीय सुन व्यापारीहरूको लगानीमा गोरे समूहले ल्याएको भनिएको सुन विमानस्थलबाट बाहिरिने क्रममा हराएपछि घटना सार्वजनिक भएको थियो ।

सुन हराएपछि तस्करीको सुन ओसारेर भारतीय बजारसम्म पुर्‍याउने मुख्य जिम्मा पाएका मोरङ उर्लाबारी घर भएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीले सुन खोजीको क्रमलाई तीव्र बनाएका थिए । सो क्रममा उनले आफ्ना सहयोगीलाई केरकार गर्दै यातना दिएका थिए । केरकारका क्रममा सहयोगी उर्लाबारीकै सनम शाक्यको हत्या भएको थियो । गोरे समूहले सनम शाक्यलाई उर्लाबारीको जङ्गलमा लगेर करेन्ट लगाउँदै यातना दिँदा मृत्यु भएको थियो ।

गोरेको यातनाबाट १८ फागुन २०७४ मा सनमको मृत्यु भएको प्रहरीले जनाएको छ । सनमको मृत्यु भएपछि घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसी नेतृत्वको टोली मोरङ खटाएका थिए ।

तर केसीले गोरेलाई उन्मुक्ति दिने गरी अभियोजन पत्र बुझाएका थिए । सो अभियोजन पत्रमा चित्त नबुझेपछि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिवेदनका आधारमा ६३ जना प्रतिवादीहरू रहेको मुद्दा दर्ता भएको थियो । तीमध्ये जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।