चारसय बिघाको केराखेती हावाहुरी र असिनापानीले नष्ट

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् ।
सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।

चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पु¥याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।
सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् ।
केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन् ।
यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए ।
बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् । रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
