राष्ट्रिय समाचार

थारू समुदायको रैथाने खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । कृष्णबहादुर घर्तीले रैथाने थारू खानाको संरक्षण तथा प्रवद्र्धन आवश्यक रहेको बताएका छन् । थारू महिलाले बनाउने रैथाने थारू खानाको अब राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गरिने भएको छ ।

थारू परम्परागत खानाको व्यावसायिक संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका थारू महिलाले रैथाने थारू खानाको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गरिने भएको हो ।

बिज्ञापन

दाङ घोराही उपमहानगरपालिका–१६ सौरीका हस्तिकुमारी चौधरीले थारू समुदायका परिकार स्वाद र विविधताका हिसाबले समृद्ध भएकाले अन्य समुदायले पनि यसको स्वाद लिनु लाभदायक हुने बताउँदै थारू रैथाने खानालाई आयआर्जनसँग जोड्दै पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए । “रैथाने थारू खानाको परिकार बनाउन बिर्सिन लागेको थिएँ”, उनले भने “अहिले थारू खानालाई व्यापक रूपमा विस्तार गर्दै व्यावसायिक विकास गर्न लागिपरेकी छु ।” उनले पहिलेपहिले दाङका थारूले खाने दगौरा खाना बनाउने गर्थे भन्दै अहिले भने दाङको मात्र नभई कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ–देउखुरी क्षेत्रका थारूले खाने रैथाने खाना बनाएर यसबाट आर्थिक स्तर वृद्धि गर्ने माध्यम बनाएको बताए ।

तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका बिना चौधरीले पनि अहिले विभिन्न जिल्लाका थारू समुदायले खाने खानाको रैथाने परिकार बनाउन थालेको उल्लेख गर्दै आफूले थारूको परम्परागत खानालाई व्यावसायिक रूपमा होटल गरेर आम्दानी गर्ने बताए ।

यस क्षेत्रका केही थारू महिलाले व्यावसायिक तालिम लिएर भए पनि रैथाने थारू खानाको संरक्षण तथा प्रवद्र्धन गर्दै यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बजारीकरण गर्न समेत जोड दिँदै आएका छन् ।

थारू समुदायका खानाका परिकार स्वाद र विविधताका हिसाबले समृद्ध भएकाले अन्य समुदायले पनि यसको स्वाद लिनु लाभदायक हुन्छ । तर, पछिल्लो समय थारू खाना पनि लोप हुँदै जान थालेकाले यसलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि थारू समुदायका महिलालाई थारू खाना बनाउने तालिमसमेत प्रदान गरिएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा थारू सांस्कृतिक संरक्षण केन्द्र चखौरा दाङको सहकार्यमा दाङका ४० महिलालाई थारू परम्परागत खानाको व्यावसायिक प्रवद्र्धन तालिम प्रदान गरिएको हो ।

दङ्गीशरण गाउँपालिकाको चखौरामा आयोजना गरिएको सो तालिममा दाङका थारूले खाने रैथाने खाना दगौरा, दाङको देउखुरीका थारूले खाने देउखुरीया, बाँके र बर्दियाका थारूले खाने देसौरी तथा कैलाली र कञ्चनपुरका थारूले खाने राणा र कठरिया खाना बनाउन सिकाइएको थियो ।

यस भेगका महिलालाई रैथाने थारू खाना बनाउन सिकाएर यसलाई बजारीकरण गर्नतर्फ आफूहरू लागेको लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । “अहिले थारू समुदायको खाना भनेर ढिक्री, घुँङी, जाँडको झोलमात्र दिने गरिएको छ”, उनले भने “त्यतिमात्रै थारू समुदायको परिकार होइनन्, हाम्रा थुपै्र खाना लोप भएका छन्, जुन मानव स्वास्थ्यका लागि पनि लाभदायक छन् ।”

उनकाअनुसार कन्जुवा, अनदी, सिम्ठारो, मकै र मसुराको भात, थारू समुदायको विवाह पाटीका परिकार, घोङी, गङ्गटा, लोकल कुखुराको मासु, गुइता माछा, माछा, सिद्रा माछा, बङ्गुरको मासु, बयरको अचार, जारको झोल, ढिक्री, पतौरीलगायत ४० भन्दा बढी रैथाने परिकार छन् । ठाउँअनुसार फरकफरक खाना रहेकाले ती खानालाई बजारमा लैजान सकेमा आम्दानीको मुख्य स्रोत पनि बन्न सक्ने पूर्वमुख्यमन्त्री चौधरीको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।