गस्तिमा गएका सिपाहीसँग भिडन्त हुँदा गैंडा मारियो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गस्ती गएका सिपाही र आमा गैँडाबीच जम्काभेट हुँदा एक सिपाहीलाई गैँडाले गम्भीर घाइते बनाएको छ । सिपाहीले ज्यान बचाउन प्रतिकार गर्दा गैँडाको मृत्यु भएको छ ।
आज दिउँसो १२ बजेर ५० मिनेट जाँदा निकुञ्ज सुरक्षामा खटिएका नयाँ गोरख गण अन्तरगतका नवलपुर सेक्टरमा रहेको सेरी सुरक्षा पोष्टका सुरक्षाकर्मीसँग गैँडाको जम्काभेट भएको थियो ।

निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पैदल गएका चार सिपाहीसँग अर्धवयस्क बच्चासहितको आमा गैँडाको जम्काभेट भएको थियो ।
पैदल गएका सिपाहीसँग एक्कासी गैँडाको जम्काभेट भएपछि उनीहरुले तर्किएर भाग्ने प्रयास गरेका थिए । तर, गैँडाले लखेट्न नछोडेपछि १० राउण्ड हवाइ फायरिङ गरेको उनले बताए ।
हवाई फायरिङपछि पनि गैँँडाले लखेट्न नछोडेपछि गस्तीमा गएकामध्ये सिपाही विकास घर्तीलाई गैँडाले लडाएर लछारपछार गर्न थालेको उनले जानकारी दिए । गस्तीका साथीमाथि गैँडाले आक्रमण गरेपछि उनको ज्यान बचाउन थप दुई राउन्ड गोली गैँडालाई नै चलाएका थापा मगरले बताए ।
गोली लागेपछि गैँडाको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिँदै सूचना अधिकारी मगरले नेपाल प्रेसलाई भने, ‘गैँडाले छोडेपछि बोकेर घर्तीलाई पोष्टमा ल्याई उपचारको लागि काठमाडौं पठाइएको हो ।’
गैँडाको आक्रमणमा परेका सिपाही घर्तीको ढाड, कम्मर लगायतका विभिन्न शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र वीरेन्द्र अस्पताल छाउनीको सघन उपचार कक्षमा उपचार भईरहेको जनाइएको छ । भने घटनास्थलमै गोली लागेर मृत्यु भएको गैँडाको पनि निकुञ्जका टोलीले पोष्टमार्टम गरेको जनाएको छ ।
पेटभन्दा माथि करङ्गमा गोली लागेर गैँडाको मृत्यु भएको हो । अन्दाजी २४ वर्षको रहेको र मृत गैंडाको खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । गैँडाले आक्रमण गरेको स्थान अमलटारी सेक्टरबाट पाँच किलोमिटर भन्दा पर निकुञ्जको कोर क्षेत्रमा पर्दछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
