पालिका जान अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई ३ दिनकाे अल्टिमेटम, रमाना नलिए कारबाहीको चेतावनी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि सरुवा भएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीहरूमाथि कडा कदम चालेको छ ।
मन्त्रालयले वि.सं. २०८२ भदौदेखि चैत महिनासम्म विभिन्न स्थानीय तहहरूमा सरुवा गरिएका तर हालसम्म रमाना नलिई साविककै कार्यालयमा बसिरहेका १६ जना उपसचिव तथा शाखा अधिकृत स्तरका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तत्काल कार्यक्षेत्रमा जान निर्देशन दिएको हो ।

मन्त्रालयले २०८३ वैशाख १० गते पत्राचार गर्दै ती कर्मचारीहरूलाई आगामी तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको नगरपालिका वा गाउँपालिकामा हाजिर हुन जान अन्तिम म्याद दिएको छ ।
सरुवाको समय व्यतित भइसक्दा समेत आफ्नो जिम्मेवारी सम्हाल्न नगई अटेर गर्ने यी कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
लामो समयदेखि सरुवा भएको ठाउँमा जान आलटाल गर्ने र साविककै कार्यालयमा टाँसिएर रहने प्रवृत्तिले स्थानीय तहको प्रशासनिक कामकाज प्रभावित भएको भन्दै मन्त्रालयले यसलाई गम्भीर विकृतिका रूपमा लिएको छ । प्रशासन क्षेत्रमा देखिएको यस्तो बेथिति रोक्न र सुशासन कायम गर्न मन्त्रालयले अबका दिनमा पनि तोकिएको समयमा हाजिर नहुने कर्मचारीहरू उपर थप कानुनी प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
