महेशपत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगको मुद्दा हालिँदै, ७ दिनदेखि छन् हिरासतमा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका ७ दिनदेखि प्रहरी हिरासतमा छिन् । शोभा पाठक नामकी युवतीसँग माइतीघरमा कुटाकुट परेपछि प्रहरीले उनीसहित १० जनालाई पक्राउ गरेको थियो ।
आफूलाई महेश बस्नेतले ‘रेप’ गरेको दाबी गर्ने शोभा पाठकले लामो समयदेखि अदालत र सडकमा संघर्ष गर्दै आएकी छन् । सुधन गुरुङ गृहमन्त्री हुँदा उनी केही दिन आमरण अनशनसमेत बसेकी थिइन् । गुरुङ मन्त्रीबाट हटेसँगै उनले अनशन तोडिन् । त्यसको केही दिनपछि माइतीघरमा अम्बिका र शोभाको भिडन्त परेको थियो ।

अम्बिका दलबलसहित आएर ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको आरोप शोभा पाठकको छ । अम्बिकाका श्रीमान् महेश बस्नेतले भने केही पुरुषसहित शोभाको समूहले आफ्नी पत्नीलाई कुटेको आरोप लगाएका छन् । घटनास्थलबाट प्रहरीले शोभालाई अस्पताल पठाएको थियो भने अम्बिकालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।
पक्राउपश्चात् सुरुमा २ दिन म्याद थपिएको थियो । त्यसपछि एक दिन मात्र थपियो । पछिल्लो पटक गत वैशाख १७ मा फेरि ५ दिन थपिएको हो । अझै तीन दिन म्याद बाँकी छ भने अनुसन्धान नसकिएको देखाएर फेरि थपिने तयारी रहेको प्रहरी स्रोत बताउँछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पक्राउ परेका १० जनाको म्याद थपेर अनुसन्धान भइरहेको बताए । भोली जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेश हुने उनले जानकारी दिएका छन् ।
प्रहरीले आरोपहरूको बयान र प्रमाणसहित सरकारी वकिल कार्यालयलाई मुद्दा बुझाएपछि अदालतमा अर्को दिन पेशी तोकिनेछ । अदालतले थुनछेक बहस गरेर निजहरूलाई थुनामा राख्ने कि तारेखमा छोड्ने भन्ने निर्णय लिन्छ ।
ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान फरक फरक मुद्दा हुन् । ज्यान मार्ने मनसाय वा प्रयास गरेको तर ज्यान नमरेको अवस्थामा ज्यान मार्ने उद्योगको मुद्दा चल्छ । यस्तोमा यदि साँच्चै ज्यान मार्न खोजेको प्रमाणित भएमा अभियुक्तलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ । ज्यान मुद्दामा दोषी ठहरिएकालाई भने २० वर्षदेखि जन्मकैदको सजाय दिने व्यवस्था छ ।
अम्बिकाविरुद्ध मुद्दा दायर हुने भएपछि शोभा पाठकले रमाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । उनले विष्णु माझीको गीत ‘चरी जेलैमा है चरी जेलैमा’ गीतमा लिपसिंक गर्दै भिडिओ हालेकी छन् । क्याप्सनमा लेखेकी छन्, ‘यो गीतले बल्ल न्याय पायो ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
