भूमिहीन र सुकुम्बासीको आन्दोलन घोषणा

रुपन्देही । रुपन्देहीमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बिहीबार बुटवलमा विरोध र्यालीसहित वृहत् प्रदर्शन गर्ने जानकारी दिए ।
उनका अनुसार बुटवलको राजमार्ग चौराहामा ठूलो संख्यामा भुमिहीन सुकुम्बासी भेला भई मिलनचोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म पुगेर कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि जिल्ला, स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
उनले सरकारको पर्याप्त तयारी र छलफल बिना नै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उठीबास लगाउने गरी डोजर चलाइएको आरोप लगाए । सरकारले विगतमा नापजाँच भइसकेका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने माग पनि उनले अघि सारे ।
उक्त प्रदर्शनमा रुपन्देहीका बुटवलसहित देवदह, तिलोत्तमा, सियारी, शुद्धोधन लगायतका पालिकाबाट भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी हुने जनाइएको छ । पहिलो चरणको आन्दोलनबाट डोजर चलाउने कार्य नरोके दोस्रो चरणको आन्दोलन घोषणा गरिने समितिले चेतावनी दिएको छ ।
यसअघि बुटवल उपमहानगरपालिका–४ अदालत अगाडि रहेका ९ वटा घरटहरा हटाइएको थियो । यस्तै मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बनेका घरटहरा हटाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समेत पत्राचार गरिसकेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
