धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको आरोपमा तीन पक्राउ

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बिहीबार दिउँसो करिब २ः२० बजे गुल्मीको धुर्कोट गाउँपालिका–७ घर भई हाल कीर्तिपुर नगरपालिका–३ ढाल्पामा बस्दै आएका २२ वर्षिय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षिय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–१० पाँगा दोबाटो बस्ने २३ वर्षिय रविन्द्र धामी र कैलालीको घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षिय रोशन बिष्ट रहेका छन् ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध ज्यानसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
