जनआस्थाको गेटमा एक युवतीले रक्सीको बोतल र ५० हजार रुपैयाँ छोडेर हिँडेपछि…

काठमाडौं । कालो चस्मा र अनुहारमा मास्क लगाएकी एक युवती शुक्रबार अपराह्न सवा ५ बजेतिर सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालय परिसरमा देखापर्छिन् । उनको हातमा एउटा निलो प्लास्टिकको थैलो हुन्छ ।
थैलोलाई जनआस्था कार्यालयको गेटमा थपक्क राखेर उनी आफ्नो बाटो लाग्छिन् । केहीबेरमा जनआस्थाका स्टाफहरू तल झर्छन् । थैलो टिपेर हेर्छन् । त्यसभित्र हुन्छ, एउटा रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद । ती युवती को थिइन् र यो ‘उपहार’ को रहस्य थियो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मौखिक उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले छानबिन थालेको हो ।

श्रेष्ठले आज आफ्नो फेसबुकमा कालो चस्मा र मास्क लगाएकी, साइड ब्याग बोकेकी युवतीको एउटा स्क्रिनसट फोटो पोस्ट गरेका छन् । यो स्क्रिनसट घटनास्थलमा रहेको सेक्युरिटी क्यामराको फुटेजबाट लिइएको हो । त्यसअघि नै श्रेष्ठले एउटा फेसबुक स्टाटस पनि लेखेका थिए । विगतमा माओवादी नेता कृष्णबहादुर महरालाई फसाइएकै शैलीमा आफूलाई फसाउने षडयन्त्र गरिएको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार उनलाई सौरभ यादवको नाममा दर्ता भएको चिनिया (सेन्चेन) को नम्बरबाट शुक्रबार मिस्टर यिङ र मिस्टर एमको नक्कली नाममा फोन आएको थियो । फोन गर्नेले गृहमन्त्रीमा सुधन गुरुङलाई छेक्नुपर्यो भन्दै १० लाख रुपैयाँको प्रलोभन दिएको उनी बताउँछन् । ती व्यक्तिले आफूलाई सानो उपहार पठाउने भनेको तर आफूले ‘इग्नोर’ गरेको श्रेष्ठको भनाइ छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
