राजनीति

मोदी–लामिछाने भेटको तयारी, कूटनीतिक वृत्तमा बढ्यो चासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल र भारतबीच पछिल्ला महिनाहरूमा उच्च राजनीतिक तहको संवाद सुस्त बनेको चर्चा भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्भावित भारत भ्रमणले नयाँ कूटनीतिक चासो पैदा गरेको छ।

पार्टी स्रोतका अनुसार भारत सरकारको निमन्त्रणामा लामिछानेको दुईदिने औपचारिक भ्रमणको तयारी भइरहेको छ। भ्रमण जेठ मध्यतिर हुन सक्ने बताइएको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

बिज्ञापन

नेपालमा नयाँ सरकार गठनपछि दुई देशबीच अपेक्षित उच्चस्तरीय भ्रमण हुन सकेका छैनन्। यसबीच भारतीय विदेश सचिवको नेपाल भ्रमणको योजना अन्तिम समयमा रोकिएको थियो भने नेपाली परराष्ट्रमन्त्री शिशिर खनालको भारत यात्रा पनि स्थगित भएको छ। खनाल ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा थिए, तर कार्यक्रम स्थगित भएपछि भ्रमण अघि बढेन।

राजनीतिक वृत्तमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र भारतबीच सम्बन्धको स्वरूपबारे विभिन्न अड्कलबाजी भइरहेका बेला लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भारतले यसअघि प्रधानमन्त्री शाहलाई समेत भ्रमण निम्तो दिएको चर्चा भए पनि औपचारिक मिति तय हुन सकेको छैन।

कूटनीतिक स्रोतहरूका अनुसार भारतले परम्पराअनुसार नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण नयाँ दिल्लीमै होस् भन्ने चाहना राखेको देखिन्छ। तर, प्रधानमन्त्री शाहले विदेश भ्रमणलाई परम्पराभन्दा आवश्यकता र राष्ट्रिय प्राथमिकतासँग जोडेर हेर्ने दृष्टिकोण अपनाएको बताइन्छ।

यही सन्दर्भमा भारतले विदेश सचिवमार्फत संवाद अगाडि बढाउने प्रयास गरेको चर्चा भए पनि भेटघाटको तह र प्रोटोकल सम्बन्धी कारणले त्यो पहल सफल हुन नसकेको स्रोतहरूको दाबी छ। प्रधानमन्त्री कार्यालयले उच्चस्तरीय भेटघाटका लागि निश्चित कूटनीतिक मापदण्ड अपनाएको बताइन्छ।

लामिछानेको प्रस्तावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा संवादको नयाँ अध्याय खोल्ने कि केवल औपचारिक सम्पर्कमै सीमित रहने भन्ने विषयलाई अब राजनीतिक तथा कूटनीतिक वृत्तले नजिकबाट नियालिरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।