मन्त्रीको टुंगो नलाग्दा मुख्यमन्त्री शाहको योजना अलमलमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको तयारी अन्तिम चरणमा पुगे पनि मन्त्री चयनको विषयमा कांग्रेसभित्रको असन्तुष्टि अझै समाधान हुन सकेको छैन। मुख्यमन्त्री कमलबहादुर शाहले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरे पनि असन्तुष्ट पक्षले आफ्नो भागमा पर्ने मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा प्रक्रिया केही जटिल बनेको छ।
मुख्यमन्त्री शाह बाहेक सरकारका अधिकांश सदस्य परिवर्तन हुने सम्भावना रहेको छ। कांग्रेस र एमाले दुवै दलले आफ्ना मन्त्री तथा राज्यमन्त्रीहरू हेरफेर गर्ने तयारी गरेका छन्। कांग्रेसतर्फ मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री तथा एमालेतर्फ तीन मन्त्री र एक राज्यमन्त्री फेरिने चर्चा छ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूसँग भएको सहमतिअनुसार उनीहरूलाई दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी दिने समझदारी बनेको थियो। तर मन्त्री बन्ने आकांक्षी धेरै भएपछि सहमति जुटाउन सकिएको छैन। हस्ताक्षर अभियानको नेतृत्व गरेका दिवानसिंह विष्टले आफू मन्त्री नबन्ने घोषणा गरे पनि बाँकी सांसदहरूबीच प्रतिस्पर्धा चर्किएको छ।
स्रोतका अनुसार सामाजिक विकास मन्त्रालय, उद्योग–पर्यटन–वन तथा वातावरण मन्त्रालय र अर्थ राज्यमन्त्रीको जिम्मेवारी असन्तुष्ट समूहलाई दिने सहमति भएको छ। तर ती मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा मतैक्य नहुँदा समूहभित्रै असन्तुष्टि बढ्न थालेको छ।
पहाडी र तराई क्षेत्रको सन्तुलन मिलाउनुपर्ने बहस पनि उठेको छ। अछामका मानबहादुर रावल, बाजुराका पदम शाही, कञ्चनपुरका बेलबहादुर राना तथा गीता चौधरी मन्त्रीको सम्भावित सूचीमा रहेका नामका रूपमा चर्चामा छन्।
उता मुख्यमन्त्री शाहले आफ्नो पक्षबाट पनि केही नयाँ अनुहारलाई सरकारमा ल्याउने तयारी गरेका छन्। विशेषगरी प्रमुख सचेतक विक्रमसिंह धामीलाई अर्थमन्त्री बनाउने सम्भावना बलियो देखिएको स्रोतको दाबी छ। यद्यपि हस्ताक्षर पक्षबाट नाम नआएसम्म अन्तिम निर्णय हुन बाँकी छ।
यसबीच कांग्रेस संसदीय दलको बैठकमा विवाद समाधानका लागि केन्द्रबाट खटिएका नेताहरूले दुवै पक्षलाई समेटेर सरकार सञ्चालन गर्न आग्रह गरेका छन्। सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीले आन्तरिक विवादलाई अन्त्य गर्दै सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिएका थिए।
सरकार पुनर्गठनको घोषणा नजिकिँदै जाँदा मन्त्री बन्ने प्रतिस्पर्धा र शक्ति सन्तुलनको गणितले सुदूरपश्चिम कांग्रेसको राजनीति थप रोचक बनेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
