कालिकोटमा श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ, अनुसन्धानबाट खुल्यो घटना

कालिकोट । कालिकोटको सान्नित्रिवेणी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको घटनामा उनकी श्रीमती र छोराको संलग्नता रहेको खुलेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नित्रिवेणी गाउँपालिका–४ स्थायी घर भई हाल वडा नं. ९ मा बसोबास गर्दै आएका ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या आरोपमा उनकी ४१ वर्षीया श्रीमती राजकला शाही र १८ वर्षीय छोरा रुपेश शाहीलाई नियन्त्रणमा लिइएको हो।

गत जेठ २७ गते साँझ करिब ८ः३० बजे सान्नित्रिवेणी गाउँपालिका–९ स्थित सुपेचौर जाने गोरेटो बाटोमा सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सूर्यबहादुरको मृत्यु प्राकृतिक नभई हत्या भएको पुष्टि भएको जनाइएको छ। अनुसन्धानबाट आपसी विवादपछि श्रीमती र छोराले टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
