रानी–जमरा नहरमा नुहाउन गएका भारतीय नागरिक बेपत्ता

टीकापुर, १४ असार । कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित कैलाशधाम मन्दिर नजिक रहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा शनिबार नुहाउन गएका भारतको गोरखपुर निवासी शिवराज शाही बेपत्ता भएका छन्।
शाही केही समयदेखि लम्कीचुहा–१ स्थित ससुरालीमा बस्दै आएका थिए र लम्कीचुहा–४ अमरपुरमा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। शनिबार केही स्थानीय बालबालिकासहित मन्दिर क्षेत्रमा पुगेका उनी नहरमा नुहाउने क्रममा तीव्र बहावले बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनापछि सशस्त्र प्रहरी बलको टोलीले खोजी कार्य सुरु गरेको छ। खोजीलाई सहज बनाउन नहरको पानीसमेत बन्द गरिएको छ भने रानी–जमरा जलविद्युत गृह आसपासको क्षेत्रमा विशेष खोजी भइरहेको छ।
रानी–जमरा नहरमा प्रत्येक वर्ष नुहाउने क्रममा यस्ता दुर्घटना दोहोरिने गरेको भन्दै जोखिमयुक्त स्थानमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। समाचार तयार पार्दासम्म शाहीको खोजी कार्य जारी रहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
