पतिपत्नीमाथि गोली प्रहार गरी डकैती गर्ने आरोपमा तीन पक्राउ

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते राति भएको गोली प्रहारसहितको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा घाइते भएका दम्पतीको उपचार भइसकेको छ भने अन्य संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनीहरूलाई विशेष अनुसन्धान तथा खोजतलासका क्रममा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घटनाको राति आरोपितहरू सहितको समूह स्थानीय रामविश्वास यादवको घरमा डकैती गर्ने उद्देश्यले प्रवेश गरेको थियो। त्यसक्रममा घरभित्र रहेका परिवारका सदस्यमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर रामविश्वास यादवकी छोरी किरण यादवको खुट्टामा दुई गोली लागेको थियो भने उनका श्रीमान् ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको थियो। दुवै जना घाइते भएका थिए।
घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। हाल उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले पक्राउ परेका तीन जनामाथि डकैती तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा प्रयोग गरिएको हतियार, डकैतीमा संलग्न अन्य व्यक्तिको पहिचान तथा लुटिएका सामग्रीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिको खोजी तीव्र पारिएको छ। साथै, घटनाको सम्पूर्ण पृष्ठभूमि र संलग्नताको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
