कर्णाली नदीको तीव्र कटानले टिकापुरको पार्कसहित ५–८ नम्बर वडामा जोखिम, गुणस्तरहीन तटबन्ध निर्माणप्रति स्थानीयको गम्भीर असन्तुष्टि

टीकापुर, ३१ असार । कैलालीको टीकापुर नगरपालिका–५ स्थित पार्कभन्दा करिब ५०० मिटर उत्तरतर्फ कर्णाली नदीले पुनः तीव्र रूपमा कटान सुरु गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। कटानका कारण पार्क क्षेत्रसँगै टीकापुर नगरपालिका–५, ६, ७ र ८ नम्बर वडासमेत उच्च जोखिममा पर्ने अवस्था सिर्जना भएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी संरक्षणका उपाय अपनाउन माग गरेका छन्।
स्थानीयका अनुसार करिब तीन महिनाअघि नै नदी कटानको सम्भावित जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराइएको थियो। त्यसक्रममा संघीय सांसद कोमल ज्ञवाली, टीकापुर नगरपालिकाका तत्कालीन कार्यवाहक नगर प्रमुख राम नगार्जी, कार्यकारी अधिकृत, रानी–जमरा–कुलरिया सिंचाइ आयोजनाका प्रमुख तथा इन्जिनियर, नेपाल प्रहरी, जिल्ला प्रशासन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि तथा स्थानीयवासी सम्मिलित टोलीले स्थलगत अनुगमन गरी तत्काल कटान नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ।

अनुगमनपछि करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरी नदी नियन्त्रणका लागि ठूला ढुंगा (बिग बोल्डर) प्रयोग गरेर तट संरक्षण गर्ने योजना अघि बढाइएको थियो। सो कार्यका लागि ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्यसमेत सुरु गरिएको थियो।
तर स्थानीयवासीले निर्माण कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूका अनुसार नदीको बहाव र भू–बनोटलाई ध्यानमा राखेर दिगो संरचना निर्माण गर्नुपर्नेमा सतही रूपमा बोल्डर छर्ने (कनिका छराइ) शैली अपनाइएकाले अपेक्षित परिणाम नआएको हो। जसका कारण हाल पुनः नदीले पार्कमाथिको जमिन कटान गर्न थालेको उनीहरूको भनाइ छ।
स्थानीयले गुणस्तरहीन निर्माण कार्य र प्रभावकारी प्राविधिक व्यवस्थापनको अभावका कारण सरकारी लगानीसमेत जोखिममा परेको बताएका छन्। उनीहरूले नदी नियन्त्रणका लागि गरिएको काम प्रभावकारी नभएकाले कटान अझ तीव्र बन्दै गएको दाबी गरेका छन्।
स्थानीयवासीले यस अवस्थाको जिम्मेवारी निर्माण कार्यको ठेक्का दिने र अनुगमन गर्ने रानी–जमरा–कुलरिया सिंचाइ आयोजनाले लिनुपर्ने माग गरेका छन्। निर्माणको गुणस्तर, प्राविधिक मापदण्डको पालना तथा ठेक्का कार्यान्वयन प्रक्रियाको निष्पक्ष छानबिन गरी आवश्यक सुधार गर्नसमेत उनीहरूको आग्रह छ।
कटान निरन्तर बढ्दै गए टिकापुर–५ स्थित पार्कसँगै आसपासका बस्ती, कृषि योग्य जमिन, सडक तथा अन्य सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुग्न सक्ने स्थानीयको चिन्ता छ। उनीहरूले सम्बन्धित मन्त्रालय, सिंचाइ आयोजना, स्थानीय सरकार तथा प्रदेश र संघीय सरकारलाई तत्काल दीर्घकालीन नदी नियन्त्रण योजना कार्यान्वयन गर्न आग्रह गरेका छन्।
स्थानीय सरोकारवालाले टिकापुरको महत्वपूर्ण सार्वजनिक सम्पत्ति पार्क तथा वडा नं. ५, ६, ७ र ८ का बस्तीलाई सुरक्षित राख्न सबै सरकारी निकाय, जनप्रतिनिधि तथा सम्बन्धित पक्षलाई समन्वय गरी अविलम्ब प्रभावकारी कदम चाल्न अपिल गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
