वेष्ट विङ्ग माध्यमिक विद्यालय ‘क’ वर्गमा वर्गीकृत

ललितपुर, १ साउन। ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित वेष्ट विङ्ग माध्यमिक विद्यालय महालक्ष्मी नगरपालिकाद्वारा ‘क’ वर्गमा वर्गीकृत भएको छ।
महालक्ष्मी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षा नियमावली, २०५९ को नियम १४५ को उपनियम (९) तथा महालक्ष्मी नगरपालिका विद्यालय सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०७४ को नियम १०१ बमोजिम गरिएको मूल्याङ्कनका आधारमा विद्यालयलाई ‘क’ वर्गमा वर्गीकृत गरेको जनाएको छ।

नगरपालिकाले जारी गरेको निर्णयपत्रअनुसार संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरूको वर्गीकरण सम्बन्धी मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा वेष्ट विङ्ग माध्यमिक विद्यालयले आवश्यक सूचकहरू पूरा गरेपछि ‘क’ वर्ग प्राप्त गरेको हो।
विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, शिक्षक व्यवस्थापन, विद्यार्थीको अवस्था, आर्थिक व्यवस्थापन, शैक्षिक प्रशासन तथा समग्र विद्यालय व्यवस्थापनलगायतका विभिन्न सूचकहरूको विस्तृत मूल्याङ्कनपछि उक्त वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ।
विद्यालय वर्गीकरण प्रणालीले शिक्षण संस्थाको गुणस्तर, व्यवस्थापन क्षमता तथा शैक्षिक सेवाको प्रभावकारिताको मूल्याङ्कन गरी वर्ग निर्धारण गर्ने व्यवस्था रहेको छ। यसले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा संस्थागत सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘क’ वर्गमा वर्गीकृत भएसँगै वेष्ट विङ्ग माध्यमिक विद्यालयले आफ्नो शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता तथा भौतिक पूर्वाधारको स्तरलाई थप प्रभावकारी रूपमा स्थापित गरेको मानिएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र विद्यार्थीकेन्द्रित सिकाइलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
