घटना

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोप, ‘क्रैट’ सर्प प्रयोग भएको दाबी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हस्तिनापुर । भारतको उत्तर प्रदेशस्थित मेरठ जिल्लाको हस्तिनापुर क्षेत्रमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा महिला, उनका प्रेमी तथा सर्प उपलब्ध गराएको आरोप लागेका अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३२ वर्षीय अतुल कुमार हस्तिनापुरमा एक प्ले–स्कुल सञ्चालन गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनकी श्रीमती दामिनीको स्कुलको भ्यान चालक तुषारसँग प्रेम सम्बन्ध रहेको खुलेको छ। यही सम्बन्धका कारण श्रीमान् बाधक बनेपछि हत्या गर्ने योजना बनाइएको प्रहरीको दाबी छ।

बिज्ञापन

प्रहरीका अनुसार घटनाअघि दामिनीले श्रीमान्लाई राति पिउने दूधमा निद्राको औषधि मिसाएर दिएकी थिइन्। उनी गहिरो निद्रामा परेपछि तुषार र अन्य दुई जनाले अत्यधिक विषालु ‘क्रैट’ प्रजातिको सर्प कोठाभित्र छोडेको र सर्पले टोकेपछि अतुलको मृत्यु भएको आरोप लगाइएको छ।

घटनापछि दामिनीले बिहान उठ्दा श्रीमान्लाई सर्पले टोकेर मृत्यु भएको भन्दै परिवार र छिमेकीलाई जानकारी दिएकी थिइन्। सुरुमा घटनालाई प्राकृतिक दुर्घटनाका रूपमा हेरिए पनि मृतकका परिवारले शंका व्यक्त गरेपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा प्रहरीले दामिनीको मोबाइल फोन तथा कल विवरण (सीडीआर) विश्लेषण गर्दा तुषारसँग निरन्तर सम्पर्कमा रहेको देखिएको बताएको छ। त्यसपछि तुषारलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनासँग सम्बन्धित प्रमाण फेला परेको र उनले संलग्नता स्वीकार गरेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानमा घटनामा प्रयोग गरिएको सर्पको व्यवस्थाका लागि दुई जना सर्प समात्ने व्यक्तिलाई प्रयोग गरिएको खुलेको छ। उनीहरूलाई पनि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा अतुलको नाममा रहेको करिब २० लाख भारतीय रुपैयाँ बराबरको जीवन बिमा रकम प्राप्त गर्ने उद्देश्य पनि घटनाको एउटा सम्भावित कारण रहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि हत्या र आपराधिक षड्यन्त्रसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

मेरठ प्रहरीका वरिष्ठ अधिकारीहरूका अनुसार घटनालाई दुर्घटनाको रूप दिन योजनाबद्ध रूपमा प्रयास गरिएको देखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।