भजनीमा सापटीको रकम फिर्ता गर्ने बहानामा घर पुगेका युवक बलात्कार आरोपमा पक्राउ

भजनी, ४ साउन । कैलालीमा एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–७ हिक्मतपुर निवासी सुनिल डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई शनिबार पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डगौरा स्थानीय एक महिलासँग सापटीस्वरूप लिएको रकम फिर्ता गर्ने भन्दै शुक्रबार राति करिब १० बजे ती महिलाको घर पुगेका थिए। घरभित्र प्रवेश गरेपछि उनले कोठाको ढोका बन्द गरी महिलामाथि जबरजस्ती गरेको आरोप लगाइएको छ।
घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा डगौरालाई नियन्त्रणमा लिई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हाल उनीमाथि बलात्कार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धानको निष्कर्षका आधारमा थप कारबाही गरिने प्रहरीको भनाइ छ।
प्रहरीले यौनजन्य हिंसासम्बन्धी घटनामा पीडितको गोपनीयताको सम्मान गर्दै आवश्यक सहयोग र कानुनी प्रक्रिया सुनिश्चित गरिने जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
