पूजा धानुक मृत्यु प्रकरणमा पाँच जना पक्राउ, पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइयो

धनगढी, १४ साउन । धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान्सहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको छ। मृतकको शवमा केही नीलडाम देखिएको भन्दै थप परीक्षण आवश्यक ठहरिएपछि पोस्टमार्टमका लागि धनगढीबाट भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको छ।
घटनापछि स्थानीयवासी तथा मृतकका आफन्तले मृत्यु शंकास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले घटनालाई सामान्य आत्महत्याको रूपमा नहेरी सबै पक्षबाट अनुसन्धान गर्नुपर्ने बताएका छन्।
यस प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन विभिन्न क्षेत्रबाट दबाबसमेत बढिरहेको छ। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग स्थानीयवासी र अधिकारकर्मीहरूले उठाएका छन्।
यद्यपि, प्रहरीले हालसम्म मृत्युको कारणबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेकाले पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
