पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु

उदयपुर, १५ साउन । उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ। घटनाले परिवारसँगै सिंगो गाउँलाई शोकमा डुबाएको छ।
मृत्यु हुनेमा एकै परिवारका ११ वर्षीय सुमित, ८ वर्षीय आदित्य र ७ वर्षीय सुगम रहेका छन्। उनीहरू स्थानीय खहरे खोलामा पौडी खेल्ने क्रममा खोलामा बनेको गहिरो पानीको खाल्डोमा डुबेका थिए।
स्थानीयवासीका अनुसार बालकहरू पौडी खेलिरहेका बेला अचानक गहिरो भागमा पुगेपछि डुबेका थिए। घटनाबारे जानकारी पाएलगत्तै स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि उनीहरूको ज्यान बचाउन सकिएन।
घटनापछि इलाकाभर शोक छाएको छ। एकै घरका तीन बालकको असामयिक निधनले परिवारमाथि ठूलो बज्रपात परेको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, वर्षायाममा खोलानाला तथा गहिरो पानी भएका स्थानमा बालबालिकालाई निगरानीबिना जान नदिन अभिभावकलाई सचेत रहन आग्रह गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
