घटना

सुर्खेतमा कृषि प्रयोगशालाकी कर्मचारीको रहस्यमय मृत्यु : आत्महत्या दुरुत्साहन आरोपमा सरकारी कर्मचारी पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत, १९ साउन एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा कार्यरत २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बी.सी.लाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट उनलाई पक्राउ गरिएको हो।

जाजरकोटको भेरी नगरपालिका–१ स्थायी घर भएकी सिंह विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायकका रूपमा कार्यरत थिइन्। उनी वीरेन्द्रनगर–७ इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा बेहोस अवस्थामा भेटिएकी थिइन्।

सहकर्मीले उद्धार गरी उनलाई उपचारका लागि देउती अस्पताल हुँदै प्रदेश अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका श्रीमान महेश बस्नेतले कविलाल बी.सी.विरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा सिंह र बी.सी.बीच सामाजिक सञ्जाल फेसबुकमार्फत नियमित संवाद हुने गरेको तथा केही शंकास्पद च्याट फेला परेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले घटनाको बहुआयामिक अनुसन्धान भइरहेको जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानका क्रममा उहाँहरूबीच फेसबुकमा कुराकानी हुने गरेको र केही शंकास्पद विषयवस्तु देखिएको छ,’ उनले भने, ‘अदालतबाट म्याद थप गरेर घटनाका सबै पक्षको गम्भीर अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि मात्रै घटनाको वास्तविक कारणबारे निष्कर्षमा पुग्न सकिन्छ।’

घटनाले एकीकृत कृषि प्रयोगशालाका कर्मचारी र मृतकका परिवारलाई शोकमा डुबाएको छ। उज्ज्वल भविष्य बोकेर सरकारी सेवामा रहेकी युवा कर्मचारीको असामयिक मृत्युले विभिन्न प्रश्नसमेत उठाएको छ।

यसैबीच, चन्द्रा सिंहको आइतबार अन्त्येष्टि गरिएको छ। अनुसन्धान जारी रहेकाले घटनाबारे थप तथ्य सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।