रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार

चितवन, ८ भाद्र । भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका–७ का २८ वर्षीय सन्देश भट्टविरुद्ध पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन्।
पीडित परिवारका अनुसार साउन ३१ गते भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। आरोपीले पूर्वयोजनाअनुसार रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ पुर्याएको जाहेरीमा उल्लेख गरिएको छ।
जाहेरीअनुसार रिसोर्टको कोठामा पुगेपछि भट्टले भित्रबाट चुकुल लगाएर बालिकामाथि जबर्जस्ती गरेको आरोप छ। बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर त्यहाँबाट भाग्न सफल भएको बताइएको छ।
घटनाबारे पीडित पक्षको जाहेरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
घटनामा आरोपित भट्ट भने फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण तथा तथ्य संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
