छोरीलाई शौच गराउन गाडीबाट ओर्लिएकी स्वस्तिका फेरि घर फर्किनन्

रुकुम पश्चिम८ भाद्र । रुकुम पश्चिममा भएको सडक दुर्घटनामा आमा–छोरीको मृत्यु भएको छ। दुर्घटनामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीको ज्यान गएको हो।
स्वस्तिका आफ्ना श्रीमान् घनश्याम ज्ञवालीलाई भेट्न रुकुम पश्चिम पुगेकी थिइन्। घनश्याम मुसिकोटस्थित एक बैंकमा कार्यरत रहेको बताइएको छ। केही दिनको पारिवारिक भेटघाटपछि स्वस्तिका दुई वर्षीया छोरीलाई साथमा लिएर सुर्खेतस्थित घरतर्फ फर्किँदै थिइन्।
यात्राका क्रममा सानीभेरी गाउँपालिका–८ स्थित मध्यपहाडी सडकखण्डमा गाडी केही समय रोकिएको थियो। सोही क्रममा छोरीलाई शौच गराउन स्वस्तिका सडक किनारतर्फ ओर्लिएकी थिइन्।
छोरीको हेरचाह गरिरहेका बेला तीव्र गतिमा आएको विद्युतीय गाडीले आमा–छोरीलाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उद्धार गरी उनीहरूलाई तत्काल जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले आमा–छोरी दुवैलाई मृत घोषणा गरेका थिए।
घर फर्किने क्रममा भएको उक्त दुर्घटनाले परिवारमा ठूलो बज्रपात परेको छ। दुई वर्षीया छोरीसहित स्वस्तिकाको मृत्यु भएपछि आफन्त तथा स्थानीय शोकमा डुबेका छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै मृतक आमा–छोरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
