नेपालको विपद्मा सहयोग लिएर आउँदै सोनु सूद, भने– ‘नेपाल, तिमी एक्लो छैनौ’

काठमाडौ, ११ भाद्र । नेपालमा प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला भारतीय अभिनेता तथा समाजसेवी सोनु सूदले सहयोगको घोषणा गरेका छन्।

सूदले सामाजिक सञ्जालमार्फत नेपाल विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरू सहयोग लिएर आउन लागेको बताएका छन्। उनले प्रभावित नागरिकका लागि खाना र आश्रयको व्यवस्था गर्न आफूहरू तयार रहेको जनाउँदै नेपालीलाई एक्लो महसुस नगर्न आग्रह गरेका छन्।

उनले सन्देशमा ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ भन्दै विपद्को समयमा नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।

नेपालमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला सूदको सहयोगको घोषणालाई मानवीय सहायताका रूपमा हेरिएको छ। विपद् प्रभावितलाई तत्काल राहत तथा आश्रय आवश्यक भइरहेका समयमा उनको पहलले सहयोग पुग्ने अपेक्षा गरिएको छ।


